दोलखा, १९ वैशाख/प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले अब देशको अर्थतन्त्रले नयाँ गति लिने बताएका छन् । आफु प्रधानमन्त्री भएको करिब ४ महिनाको अवधिमा देशको आर्थिक समस्या समाधान गर्न, जनताको विकास र समृद्धिको आकांक्षालाई सम्बोधन गर्न रातदिन खटिरहेकाले अर्थतन्त्र सुधारको राम्रो संकेतहरु देखा परेको उनको भनाई छ ।
दोलखाको जिरी नगरपालिका वडा नम्बर २ यलुङमा पुनर्निमित एक गुम्बाको उद्घाटन गर्दै प्रधानमन्त्री दहालले यस्तो बताएका हुन् । देशको अर्थतन्त्र लयमा ल्याउन बैँकको ब्याजदर घटाउने प्रक्रिया सुरु भएको भन्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रले नयाँ गति लिने संकेत देखिएको धारणा राखे । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट निर्माणका लागि सरकार अन्तिम तयारीमा जुटेको भन्दै प्रधानमन्त्री प्रचण्डले यो पटक किसानहरुको हितलाई प्रत्यक्ष रुपले फाइदा पुर्याउने, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने काममा उच्च प्राथमिकता र महत्व दिएर बजेट, निति तथा कार्यक्रम ल्याउने बताए ।
अर्काे एक प्रसङ्गगमा प्रधानमन्त्री प्रचण्डले चीन र भारत जोड्ने उत्तर–दक्षिण राजमार्ग दोलखाको पर्यटन विकासका लागि पनि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले जिरी ३ मा निर्माण भइरहेको एसियाकै अग्लो गुरु रिम्पोर्छेको मुर्ती र बागमती प्रदेश सरकारले प्रदेशकै गौरवको रुपमा सुरु गरेको को बहुवर्षिय योजना अन्तरगत निर्माण हुन लागेको जिरी तालको विषयमा समेत चासो व्यक्त गरे ।
२०७२ सालको महाभुकम्पका कारण क्षतीग्रस्त ङाग्युर येशे ख्युङजोङलिङ गुम्बाको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड हेलिकप्टर मार्फत माली आएका थिए । लामा गुरु स्यारपुर धम्च्यो ग्याच्छो रिन्पुछेको करिव साढे ३ करोड सहयोगमा गुम्बा निर्माण सम्पन्न भएको हो ।
गुम्बा व्यवस्थापन समितिका अध्यक्ष नाम्छेन शेर्पा लामाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गा कार्की विश्व, बागमती प्रदेश सरकारका पूर्व वन तथा वातावरणमन्त्री एवं माओवादी केन्द्र दोलखाका ईन्चार्ज विशाल खड्का, नेपाली कांग्रेसका केन्द्रिय सदस्य जिपछिरिङ लामा र पूर्व सांसद आङदेण्डी शेर्पा लामा, जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेल लगायत जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।