दोलखा, ३१ बैशाख / नव निर्मित वृद्धाश्रम भवन सञ्चालनका लागि दोलखाको प्रसिद्ध चर्णावती धाममा श्रीमद् देवी भागवत महापुराण आयोजना हुने भएको छ ।
जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर ७ स्थित चर्णावती त्रिवेणी धामलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्दै नवनिर्मित ज्येष्ठ नागरिक सेवा भवनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न उद्देश्यका साथ आगामी जेठ ७ देखि १५ सम्म देवी भागवत महापुराणको आयोजना गर्न लागिएको हो । ९ दिनसम्म चल्ने महायज्ञमा संस्कृतविद् विदुषी प्राध्यापक डाक्टर कान्ता भट्टराईले कथा वाचन गर्ने आयोजक चर्णावती त्रिवेणी विकास तथा प्रबद्र्धन संघले जनाएको छ । महायज्ञका लागि अहिले तयारी तथा प्रचारप्रसार तीब्र पारिएको छ ।
संघीय सरकार, प्रदेश सरकार र गाउँपालिका समेत गरी करिव ३ करोड ३५ लाखमा निर्मित १८ कोठे ज्येष्ठ नागरिक सेवा भवनमा ४० जना वृद्धवद्धालाई सेवा दिन सकिने बताइएको छ । महायज्ञबाट सङ्कलित रकमले भवनमा ज्येष्ठ नागरिकका लागि आवश्यक सेवा सुविधाको व्यवस्था गरिने संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले बताए ।