दोलखा, ०७ जेठ । दोलखाको प्रसिद्ध चरणावती त्रिवेणी धाममा श्रीमद् देवी भागवत महापुराण सुरु भएको छ ।
जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर ७ स्थित चर्णावती त्रिवेणी धामलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्दै सोही स्थानमा नवनिर्मित ज्येष्ठ नागरिक सेवा भवनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न उद्देश्यका साथ सुरु भएको महायज्ञ यही जेठ १५ गतेसम्म सञ्चालन हुनेछ । ९ दिनसम्म चल्ने महायज्ञमा प्रमुख वाचकका रुपमा संस्कृतविद् विदुषी प्राध्यापक डाक्टर कान्ता भट्टराई रहेको आयोजक चर्णावती त्रिवेणी विकास तथा प्रबद्र्धन संघले जनाएको छ ।
महायज्ञको आईतबार एक समारोहका वीच वरिष्ठ संस्कृति एवं इतिहाँसविद् डा. जगमान गुरुङले उद्घाटन गरे । उद्घाटन अघि नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागि भएका थिए । महायज्ञको पहिलो दिन आईतबार ९ लाख भन्दा बढी रकम सङ्कलन भएको आयोजकले जनाएको छ ।