दोलखा, १७ जेठ । दोलखाको मेलुङ गाउँपालिकाका कृषकहरुलाई घरपालुवा पशुहरुको उचित व्यवस्थापनका लागि तालिम प्रदान गरिने भएको छ ।
मेलुङ गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास मञ्च नेपाल सिडिएफले कृषकहरुलाई तालिम प्रदान गर्न लागेको हो । हेफरले मेलुङ गाउँपालिका भर गठन गरेको ३५ वटा महिला कृषक समूह मध्ये वडा नम्बर १ पवटी स्थित ३ वटा समूहका सदस्य कृषकहरुलाई बुधबारदेखि पशु व्यवस्थापनका सम्बन्धमा तालिम दिन सुरु गरेको छ । तीन दिनसम्म चल्ने तालिमको गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङले एक समारोहका वीच उद्घाटन गरे । यस्तो तालिम क्रमशः पालिकाका सबै कृषक समूहलाई प्रदान गरिने दोलखाका लागि हेफर नेपालका प्राविधिक संयोजक पुष्कर कार्कीले जानकारी दिए ।
कृषि तथा पशुपालनसँग सम्बन्धित विविध गतिविधी सञ्चालनका लागि मेलुङ गाउँपालिकासँगको सहकार्यमा हेफर नेपाल नामक संस्था सञ्चालनमा रहेको छ ।