दोलखा, २० जेठ । दोलखामा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई ज्यालादारी मजदुरका माग सम्बोधन गर्न स्थानीय राजनीतिक दलहरुले आग्रह गरेका छन् ।
विगु गाउँपालिका १ स्थित नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुखहरुले शनिबार एक विज्ञप्ति जारी गर्दै आफुहरुलाई करार सम्झौतामा लगिनुपर्ने ज्यालादारी कर्मचारीहरुको माग जाहेज भएको भन्दै वार्ता र सम्वादका माध्यमबाट त्यसलाई यथाशीघ्र सम्बोधन गर्न आग्रह गरेका हुन् । काङ्ग्रेस वडा सभापति यादव आचार्य, एमालेका वडा कमिटी अध्यक्ष पहलमान तमाङ र माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष मिरे तमाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा मजदुरका माग सम्बोधन नभए आफूहरु पनि आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ ।
माथिल्लो तामाकोशीमा कार्यरत ज्यालादारी मजदुरहरु आफूहरुलाई करार सम्झौतामा लगिनुपर्ने माग गर्दै गत जेठ १४ गतेदेखि धर्ना, आयोजनाका सवारी सञ्चालनमा रोक लगाउन जस्ता आन्दोलनमा छन् ।