परापूर्व कालमा भगवान राम, सीता र लक्ष्मण १४ वर्षको वनबासमा रहँदा चरणावती धाम (हाल दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ मा अवस्थित) मा पनि केही समय बसेको र सोही समयमा चरणावती नदी संगम स्थल (तामाकोशी र गोपीखोला नदीको समेत मिलनले त्रिवेणी) मा गई पौष कृष्ण पक्षको औंशी तिथीमा राम लक्ष्मणले आफ्ना दिवंगत पिता दशरथको पहिलो श्राद्व गरेको जनविश्वास रही आएको छ ।
त्यही समयदेखि रामले चरणावती त्रिवेणीमा मृत्यु भएका मानिसहरुको दाहसंस्कार गर्ने चलन पनि चलाएकोले यस स्थानलाई रामघाट भन्ने गरिएको हो । पितृ उद्दारको हिसाबले अत्यन्त महत्त्वपूर्ण यो पवित्र धार्मिक तीर्थस्थलमा श्राद्व नगरी अन्य तीर्थ स्थलमा गएर श्राद्व गर्न नहुने विश्वास रहिआएको छ । यसै विश्वास अनुरुप अहिले पनि धेरै टाढा टाढादेखि मानिसहरु आएर यस स्थानमा आएर पितृमोक्षका लागि श्राद्व गर्ने गर्दछन । विशेषगरि पौषे औंशीको दिन यस स्थानमा श्राद्व गर्नेहरुको ठूलो भीड लाग्ने गर्दछ ।
पितृ उद्वारको लागि भन्दै भारतको प्रख्यात धार्मिक तीर्थस्थल काँशी गयामा श्राद्व गर्न जानेहरु पनि पहिला यही चरणावती त्रिवेणी धाममा आइ श्राद्व गर्ने गर्दछन् । काँशीमा श्राद्व गर्न जाँदा त्यहाँका पण्डा गुरुहरुले पहिला चरणाावती त्रिवेणी रामघाटमा श्राद्व नगरि त्यहाँ आएर श्राद्व गर्न नहुने र गरिहालेमा पनि गरेको फल नपाइने र पितृ उद्वार पनि नहुने बताउने गरेको काँशी पुगेर फर्केका धेरै पितृ भक्तहरुको भनाइ रहेको छ ।
दोलखाको प्रसिद्व धार्मिक स्थलहरु कालिञ्चोक भगवतीको चरणबाट उत्पति भई बगेको उत्तर बाहिनी चरणाावती नदी, भगवान शिव पार्वतीको बासस्थान मानिने गौरीशंकर हिमालको काखबाट उत्पत्ति भई बगेको तामाकोसी नदी र परापूर्व कालमा गोप र गोपीनीहरुले स्नान गर्ने ,जलकृडा गर्ने गोपी नदी गरि तीन वटा पवित्र नदीहरुको संगमस्थल र नजिकै शैलुङ्गेश्वर महादेव र शैलुङ्गेश्वर देवीको शिरबाट उत्पत्ति भई बगेको शैलुङ अँधेरी नदी रहेको चरणावती धाम धार्मिक तथा पितृ कार्यको लागि धेरै महत्त्वपूर्ण रहेको वरिष्ठ इतिहासविद् एवं नेपाल ऋषि जगमान गुरुङ बताउनुहुन्छ ।
यो स्थान नेपालको राजधानी काठमाडौ, भारतको सितामाढी र चीनको स्वशासित क्षेत्र तीब्बतको फलाकबाट समान दुरिमा रहेको छ ।ऐतिहासिक, धार्मिक तथा पौराणिक महत्त्व बोकेको चरणाावती त्रिवेणी रामघाट धामको व्यापक प्रचार प्रसार गर्न सके र धाम वरपरको वातावरणीय संरक्षण तथा विकास गर्न सके नेपाल मात्र नभएर चिन, भारत लगायत अन्य मुलुकबाट पनि वर्षेनी लाखौं धार्मिक पर्यटकहरु भित्र्याउन सकिने देखिन्छ । यस कार्यका लागि जिल्लाका सबै स्थानीय निकाय र सरोकारवालाहरुको उत्तिकै भूमिका र जिम्मेवारी रहन्छ ।