भक्तपुर, २१ असार । गत चैत्रमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कुनै प्राविधिक समस्या नआए आज साँझसम्म एसईईको नतिजा सार्वजनिक हुने जनाएको छ ।
बोर्डले यस पटक पनि २०७२ सालकै लेटर ग्रेडिङ निर्देशिका अनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ । उक्त निर्देशिका अनुसार विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर ३५ प्रतिशत ल्याए पास हुने व्यवस्था छ । जस अनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।
गएको चैत्र १७ गतेदेखि सुरु भएको एसईई परीक्षामा देशभरका १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थीले परीक्षा दिएका थिए ।
यसरी हेर्न सकिन्छ नतिजा
राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशन गर्न लागेको एसईई परीक्षाको नतिजा हेर्न विविध व्यवस्था गरेको छ । यसका लागि विद्यार्थीले वेबसाइट, एसएमएस र आइभिआर प्रविधीको प्रयोग गर्न सकिने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।
जस अनुसार मोबाईलबाट १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा जान्न सकिने छ भने एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ ।
त्यस्तै बोर्ड अन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, लगायत www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.khalti.com, www.neemaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com आदिबाट पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।