दोलखा, २६ असार । दोलखाको मेलुङ गाउँपालिकामा पशुमा लाग्ने लम्पी स्किन रोगको प्रकोप बढ्दै गएको छ । सो रोगको कारण अहिलेसम्म गाउँपालिका भर दर्जन भन्दा बढी पशु मरेका छन् भने तीन सयको हाराहारीमा पशुहरु विरामी परेको पशु स्वास्थ्य प्राविधिकहरुले जनाएका छन् ।
पशु स्वास्थ्य विभागका प्रमुख मदन थिङका अनुसार मेलुङ गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ६ र ७ नम्बर वडाका पशुहरु लम्पी स्किन रोगबाट प्रभावित छन् । ती वडाहरु र वडा नम्बर ५ का केही टोलहरु गरी करिव ३ सयको हाराहारीमा पशुहरु बिरामी परेको थिङले बताए ।
पालिका भित्रको संक्रमणको अवस्थाबारे सोमबार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नेतृत्वको छुट्टाछुट्टै टोलीले प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी जानकारी लिएका छन् । सो क्रममा भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्र चरिकोटका पशु चिकित्सक ध्रुव डिसी र हेफर परियोजनाका डाक्टर राजेन्द्र ढकाल सहितको पशु स्वास्थ्य प्राविधिकहरुको टोलीले खोप तथा औषधी वितरण गरेका थिए ।
गाउँपालिका अध्यक्ष हिरा कुमार तमाङले लम्पी स्किन रोग विरुद्धको २ हजार डोज खोपको व्यवस्था गर्नुको साथै आवश्यक औषधीहरु खरिद गरि वितरण समेत सुरु गरिएको जानकारी दिए । प्रभावित क्षेत्रमा थप संक्रमण हुन नदिन बुधबारदेखि थप जनशक्ति व्यवस्थापन गरी खटाइने तमाङले बताए ।
के हो लम्पी स्किन?
लम्पी स्किन काप्रीपक्स नामक एक प्रकारको भाइरसबाट लाग्ने रोग हो । सन १९२९ मा अफ्रिकाको जम्बिया नामक देशमा देखा परेको यो रोग २०१२ पछि मध्यपूर्व, दक्षिणपूर्वी युरोप र रसिया, काजकिस्तान, बङ्गलादेश भारत हुँदै एसियाली देशहरुमा पनि फैलिएको हो । नेपालमा पहिलो पटक २०७७ सालमा मोरङमा यो रोग पुष्टि भएको थियो ।
यो रोग लागेका पशुहरुमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काढ्ने, लिम्फनोडहरू सुनिने र अन्त्यमा मृत्यु हुने जस्ता लक्षणहरु देखा पर्दछ ।
कसरी फैलिन्छ?
संक्रमित गाईबस्तुको ओसारपसार, सामुदायिक चरन क्षेत्र एवं दानापानी खाने ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधान आदिबाट यो रोग सर्ने गर्दछ । लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरूले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् । वर्षातको समयमा बढी देखिने यो रोग रोगी पशुहरूको सिंगान, दूध र घाउबाट निस्केको पीप, रगत जस्ता जैविक रसहरूको प्रत्यक्ष संसर्गबाट सर्न सक्छ ।
कसरी नियन्त्रण गर्न सकिन्छ?
लम्पी स्किन रोग लागिसकेपछि निको हुन निकै लामो समय लाग्ने गर्दछ । यो रोग लगाउने भाइरस गोठको वातावरणमा लामो समयसम्म जीवित रहन्छ । यो रोग लागेर मरेका पशुहरू उचित तरिकाले गाड्ने वा जलाउने कार्य छिटोभन्दा छिटो गर्नुपर्दछ भने यो रोग लागेर पशु हटाएको स्थानमा कम्तिमा २१ दिनसम्म पुनः नयाँ पशु राख्न हुँदैन र नयाँ पशु खरिद गर्दा पनि कम्तिमा २८ दिन पहिले यो रोग विरुद्धको खोप लगाएको पशुहरु मात्र खरीद गर्नुपर्दछ ।
त्यस्तै किसानहरुले पनि जैविक सुरक्षालाई विशेष ध्यान दिने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने लगायतका कार्य गर्नुपर्दछ ।
यो रोग देखिएको ठाउँबाट २० किलोमिटर सम्मको परिधिलाई संक्रमित क्षेत्र र सो क्षेत्रको बाहिरी २० किलोमिटरसम्मको क्षेत्रलाई सघन निगरानी क्षेत्र घोषणा गरी सबै स्थानीय तहहरुले रोग नियन्त्रणका उपायहरू अबलम्बन गर्नुपर्ने कृषि तथा पशुपन्छि विकास मन्त्रालयका पशु चिकित्सक डा प्रकाश अधिकारीको भनाई छ ।