दोलखा, १५ साउन । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ स्थित सत्येश्वर माविमा जुनियर रेडक्रस सर्कलले डस्टबिन हस्तान्तरण गरेको छ ।
विद्यालयमा हुने फोहोर व्यवस्थापनका लागि जुरेसले कुहिने र नकुहिने फोहोरका लागि छुट्टाछुट्टै डस्टबिन हस्तान्तण गरेको हो । सोमबार विद्यालयमा आयोजित एक समारोहमा नेपाल रेडक्रस सोसाइटी पवटी उपशाखाका सभापति शिवकुमार क्षेत्री भुजेलले विद्यालयका प्रधानाध्यापक मुकुन्द प्रसाद उप्रेतीलाई डस्टबिन हस्तान्तरण गरे । डस्टबिन हस्तान्तरणसँगै अब विद्यालयमा उत्पादन हुने फोहोर व्यवस्थापनमा सहजता थपिएको प्रअ उप्रेतीले बताए ।
कार्यक्रमकै अवसरमा जुरेसले गत शुक्रबार आयोजना गरेको कृषिजन्य सामाग्री प्रदर्शनीमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको छ ।
जुरेसले आयोजना गरेको आलु प्रदर्शनीमा सबैभन्दा ठूलो आलु ल्याउने कक्षा ९ की लक्ष्मी कटुवाल (१ केजी ७०० ग्राम) कक्षा ८ की आयुस्मा उप्रेती (१ केजी ३५० ग्राम), कक्षा ८ कै दिपा कार्की (१ केजी १९० ग्राम) र कक्षा ३ की सलिना शेर्पा (१ केजी २० ग्राम) लाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो ।