दोलखा, १९ साउन । दोलखाको उत्तरी गौरीशङ्कर गाउँपालिकाको टोपाटारमा अविरल वर्षासँगै गयराती आएको पहिरोले पुरेर बेपत्ता भएका चार जना मध्ये एक बालक मृत भेटिएका छन् ।
स्थानीय ३ वर्षका बालक प्रिन्स थामी मृत भेटिएका हुन् भने बेपत्ता भएका स्थानीय कृष्ण बहादुर मगर, उनकी श्रीमती देव मगर र अर्का स्थानीय हरिलाल श्रेष्ठको खोजीकार्य जारी छ । गाउँपालिकाको वडा नम्बर ७ मार्बु र वडा नम्बर ८ खारे किो सिमानामा पर्ने टोपाटार भन्ने स्थानमा झरेको पहिरोले आधा दर्जन घर बगाएको थियो । पहिरोमा परेर घाइते अवस्थामा उद्धार गरिएका स्थानीय यज्ञ थामी, उनकी श्रीमती र अर्का एक जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए ।


खारेको सल्ले भन्ने स्थानबाट झरेको पहिरोले मार्बुको टोपाटारमा क्षती पुर्याएको हो । पहिरोले टोपाटारमा रहेको घट्टे खोलाको पुल समेत बगाएको छ । बेपत्ता भएकाहरुको अहिले स्थानीय र प्रहरी मिलेर खोजिकार्य जारी राखेका छन्, यद्यपी घटनास्थलमा फोन सम्पर्क हुन नसकेका कारण विवरण प्राप्त हुन ढिलाइ भएको छ ।
