दोलखा, १३ कार्तिक । दोलखाको सुन्दर पर्यटकिय नगरी जिरीमा कार्तिक तेस्रो साता बृहत खेलकुद प्रतियोगिता ‘जिरी च्याम्पियनसिप २०८०’ आयोजना हुने भएको छ ।
जिरी नगरपालिकासँगको सहकार्यमा युवा सञ्जाल जिरीले आयोजना गर्ने उक्त कार्यक्रम कार्तिक १५ गते सुरु भइ १९ गते सम्पन्न हुनेछ । प्रतियोगिता अन्तर्गत जिल्लामै सर्वाधिक पुरस्कार राशिको बागमती प्रदेश स्तरिय अन्तर पालिका खुल्ला पुरुष भलिबल, जिरी भ्याली माउण्टेन सर्किट अल्ट्रा म्याराथन, स्लो बाइक रेस लगायतका विभिन्न खेलहरु सञ्चालन हुनेछन् ।
भलिबल खेल तर्फ प्रथम पुरस्कार राशि नगद १ लाख ५१ हजार रुपैयाँ रहेको छ भने द्वितिय १ लाख १ हजार, तृतिय ५१ हजार र सान्त्वना पुरस्कार राशि २५ हजार रुपैयाँ रहेको छ । त्यस्तै अल्ट्रा म्याराथन तर्फ प्रथम, द्वितिय र तृतिय पुरस्कार राशि क्रमशः १० हजार, ७ हजार र ५ हजार रहेको छ भने स्लो बाईक रेस तर्फ प्रथम पुरस्कार ७ हजार, द्वितिय पुरस्कार ५ हजार र तृतिय पुरस्कार ३ हजार नगद रहेको छ । प्रतियोगिता अवधीभर आयोजना स्थल जिरी लिङ्कन बजारमा साँझ ९ बजेसम्म विविध साङ्गितिक कार्यक्रम समेत आयोजना गरिने आयोजकले जनाएको छ ।
खेलकुदको माध्यमबाट जिरीको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना हुन लागेको जिरी च्याम्पियनसिपको तयारी अन्तिम चरणमा रहेको छ । प्रतियोगितामा सहभागि हुन चाहने टिम तथा व्यक्तिले कार्तिक १४ गते बेलुकीसम्म नाम दर्ता गराइसक्नुपर्ने सञ्जालका अध्यक्ष जगदिश खड्काले जनतापेजलाई जानकारी दिए । खड्काका अनुसार प्रतियोगिता सञ्चालनका लागि कुल खर्च १६ लाख ५३ हजार हुने प्रारम्भिक अनुमान गरिएको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभाका सदस्य कुन्दनराज काफ्ले हुने र समापन प्रतिनिधि सभा सदस्य गङ्गा कार्की विश्वबाट हुने सञ्जालका संस्थापक अध्यक्ष एवं सल्लाहाकार केन्द्रज्योती खड्काले जनाए ।
२०७२ सालमा स्थापना भएको युवा सञ्जाल जिरीले विगतका वर्षहरुमा पनि जिरी च्याम्पियनसिप, राष्ट्रिय हुचिल तथा लाटोकोसेरो उत्सव, जिरी स्ट्रिट फुड फेस्टिभल लगायत विभिन्न प्रवद्र्धनात्मक गतिविधिहरु सञ्चालन गर्दे आएको छ ।