दोलखा, २८ कार्तिक । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ रुखिनीकी आगलागी पिडित मनमाया नेपालीलाई नेपाल रेडक्रस सोसाइटी पवटी उपशाखाले राहत सहयोग उपलब्ध गराएको छ ।
उपशाखाका पदाधिकारी एवं सदस्यहरुले सोमबार पिडितलाई भेटेर सिरक डस्ना लगायत लत्ता कपडा, खाद्यान्न आदि उपलब्ध गराएको उपशाखाका सभापति शिव कुमार भुजेलले जानकारी दिए । पिडितको सहयोगका लागि उपशाखाका पदाधिकारी तथा सदस्यहरु एवं शिक्षक तथा बुद्धिजिवीहरुबाट आर्थिक सङ्कलन भएको थियो । नेपालीको परिवारलाई यसअघि नै मेलुङ गाउँपालिका तथा रेडक्रस जिल्ला शाखाका तर्फबाट पनि राहत सहयोग उपलब्ध गराइएको थियो ।
गत विहिबार विद्युत लाईन सर्ट भइ आगलागी हुँदा नेपालीको घरमा भएका अन्नपात, लत्ताकपडा, सुनचाँदी, नगद लगागत जलेर नष्ट भएको थियो ।