दोलखा । विगु गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार प्रतिनिधी सभाका सदस्य गङ्गा कार्कीले एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
विगु गाउँपालिका ४ स्थित शान्ति आदर्श माविको व्यवस्थापनमा सुरु भएको प्रतियोगिता सोही विद्यालयको खेल मैदानमा सम्पन्न हुनेछ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विगस गाउँपालिका अन्तर्गतका ११ ओटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कबड्डी लगायत समूह खेल सहित एथलेटिक्स तर्फका रनिङ, लङ जम्प, हाइजम्प, ज्याभलिन थ्रो, सटपुट लगायतका प्रतिस्पर्धाहरु हुनेछन् ।
विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन समारोहमा गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय सचिवालय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज पुष्कर कुमार अधिकारी, लगायतको सहभागिता रहेको थियो ।
प्रतियोगिता अन्तर्गत शनिबार विहानैदेखि विभिन्न विधाका प्रतिस्पर्धाहरु भइरहेका छन् ।