दोलखा, ११ पौष । दोलखाको पर्यटकिय नगरी जिरीमा सम्पन्न पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी लगातार चौथो पटक सहिद स्मृति आवासीय माविले जितेको छ ।
जिरी माविको व्यवस्थापनमा जिरी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा १३ स्वर्ण, ५ रजत र ५ कास्य गरी २३ पदकका साथ सहिद स्मृति आवसिय माविले उपाधी हासिल गरेको हो । प्रतियोगितामा बौद्धभुवनेश्वरी मावि मालीले ७ स्वर्ण, ७ रजत र ५ कास्य गरी १९ पदकका साथ आफूलाई दोस्रो स्थानमा उभ्याएको छ भने जिरी मावि ६ स्वर्ण, ६ रजत र १ कास्य गरी १३ पदक सहित तेस्रो स्थानमा रहन सफल भयो ।
यही सोमबारदेखि सुरु भएको प्रतियोगितामा जिरी नगरपालिकाभित्रका ९ वटा विद्यालयको सहभागिता रहेको थियो । बिजेता खेलाडीहरुलाई जिरीका मेयर मित्र बहादुर जिरेल, उपाध्यक्ष कृष्णमाया बुढाथोकी, खड्का, जिरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव कुमार कार्की लगायतले शिल्ड, मेडल प्रमाणपत्र वितरण गरेका थिए ।