दोलखा, २८ माघ । गएको पौष १६ गते विभत्स हत्या गरी फालिएको अवस्थामा फेला परेका शैलुङ गाृउँपालिकाका एक युवकको आफ्नै प्रेमिकाका परिवारले हत्या गरेको खुलेको छ ।
झण्डै डेढ महिना लामो अनुसन्धान पछि आइतबार अभियुक्तहरु सार्वजनिक गर्दै दोलखा प्रहरीले शैलुङ ४ मागापौवाका १९ वर्षिय भीष्म भण्डारीको हत्या प्रेमिकाका परिवारले गरेको बताएको हो । प्रहरीका अनुसार शैलुङ ५ काटाकुटीका पुस्कर नेपालीको १७ वर्षिय छोरीसँग प्रेम सम्बन्धमा रहेका भण्डारीलाई पुस्कर सहित उनका दाजू इश्वर र भतिज विशाल नेपालीले गत पौष ११ गते राती हत्या गरेका थिए ।
गाउँमा भएको पुजामा गएर फर्किने क्रममा भण्डारीलाई पुस्कर नेपालीले आफ्नी छोरीको कोठामा सँगै देखेपछि भण्डारी आँत्तिएका थिए । सो क्रममा पुस्करले दाजु र भतिजलाई समेत बोलाएर भण्डारीलाई एकान्त बाटो तर्फ लिएर गएको र सोही रात स्थानीय बीर बहादुर तामाङको घर नजिकै धारोमा खुकुरीले भण्डारीको टाउको छिनाइ हत्या गरिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । हत्या गरिसकेपछि रगत आउनजेल धारोमा लासलाई धोएपछि धारा वरिपरि सफा गरेर तीनै जना मिलेर लासलाई स्थानीय बजिनी खोल्सामा लगेर फालेका थिए ।
प्रहरीको हिरासतमा रहेका तीनै जनालाई जिल्ला सरकारी वकिलको कार्यालय मार्फत कर्तव्य ज्यान सम्बन्धी मुद्धा चलाई आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।