चरिकोट, १४ फागुन । दोलखामा आगामी फागुन २१ गतेदेखि जिल्लामा अहिलेसम्मकै ठूलो पुरस्कार राशि भएको भलिबल प्रतियोगिता हुँदैछ ।
खेल मार्फत दोलखाको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ दोलखा युवा सञ्जालले “प्रथम बागमती प्रदेश स्तरीय अन्तर पालिका सहिद कमरेड रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता” आयोजना गरेको हो । प्रतियोगिताको प्रथम पुरस्कार राशी दुई लाख एकाउन्न हजार नगद रहेको छ, जुन दोलखा जिल्लामा अहिलेसम्म भएका भलिबल प्रतियोगिता मध्येको सबैभन्दा ठूलो हो । त्यस्तै प्रतियोगिताको द्वितिय पुरस्कार एक लाख एकाउन्न हजार, तृतिय पुरस्कार एकाउन्न हजार र सान्त्वना पुरस्कार एक्काइस हजार रुपैयाँ नगद रहेको आयोजकले जनाएको छ । साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, डिफेण्डर र ब्लकरलाई पनि नगद, ट्रफि, मेडल र प्रमाणपत्रका साथ सम्मान गरिनेछ ।
दश वर्षे जनयुद्धका महान सहिद, ‘पूर्वको चम्किलो तारा”का नामले चिनिने रितबहादुर खड्का प्रतापको व्यक्तित्व, कृतित्व र स्मृतिको निरन्तरता स्वरुप सहिद सप्ताहको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको सञ्जालका अध्यक्ष पुष्कर कुमार अधिकारीले जानकारी दिए । “स्वास्थ्य, पर्यटन र राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ दोलखा सदरमुकाम चरिकोट स्थित भीमेश्वर रङ्गाशालामा आयोजना हुने प्रतियोगिताको विशेष उद्घाटनको तयारी भइरहेको छ । सञ्जालका उपाध्यक्ष नवराज अर्यालले प्रतियोगिताको उद्घाटन समारोहमा सहिद परिवारलाई पनि विशेष सम्मान गर्ने कार्यक्रम तय भएको बताए । बागमती प्रदेशका महानगरपालिका बाहेकका स्थानीय तहबाट विभिन्न टिमहरुको सहभागिता रहने प्रतियोगिताको तयारी हाल तीब्र रुपमा चलिरहेको छ ।
२०७९ सालमा स्थापना भएको दोलखा युवा सञ्जालले जिल्लामा खेलकुदका माध्यमबाट विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । उक्त संस्थाले गत वर्ष पनि अन्तराष्ट्रिय स्तरको रेस्लिङ प्रतियोगिता सम्पन्न गरेको थियो ।