दोलखा, १९ फाल्गुन । दोलखाको मेलुङ गाउँपालिकामा विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सुरु भएको छ । कार्यक्रम अन्तर्गत प्रत्येक महिनाको एक पटक पालिका भित्र रहेका सबै माध्यमिक विद्यालयहरुमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत जनप्रतिनिधिहरु पुग्नेछन् ।
उक्त कार्यक्रमको सुरुवात वडा नम्बर १ पवटी स्थित सत्यश्वर माविबाट भएको र सोही अनुसार महिनाको एक पटक पालिका भित्र माध्यमिक तहसम्म अध्यापन हुने विद्यालयमा पुगेर शिक्षक, विद्यार्थी र अभिभावकहरुसँग प्रत्यक्ष छलफल तथा अन्तरक्रिया गरिने गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले बताए । अभियानमा विशेष गरी कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई केन्द्रित छलफल तथा अन्तरक्रिया गर्ने गरिएको छ । यसो गर्दा विद्यालयको शैक्षिक, भौतिक, आर्थिक अवस्थाका बारेमा प्रष्ट जानकारी हुनुको साथै विद्यालयमा शिक्षक तथा विद्यार्थीहरु नियमित हुने–नहुने, कक्षामा कति विद्यार्थीको उपस्थिती रहेको छ, कति विद्यार्थीको कक्षा अनियमित छन् वा विद्यालय छोडेका छन्, त्यसको कारण के हो जस्ता प्रश्नहरुको जवाफ पाइने र त्यसमा पालिकाले आवश्यक योजना निर्माण गर्न सहज हुने अध्यक्ष तमाङको भनाइ छ ।


साथै विषयगत शिक्षकको शिक्षण सिकाइ र अन्य क्रियाकलाप प्रति विद्यार्थीहरुको सन्तुष्टि वा गुनासो, माध्यमिक तह उत्तीर्ण पछि विद्यार्थीले पढन चाहेको सङ्काय वा विषयको बारेमा प्रत्यक्ष जानकारी लिने र त्यसै अनुसारको विद्यालयको वृत्ति विकासमा पालिकाको भूमिका प्रष्ट हुने उद्देश्यले यो अभियान सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्यले जानकारी दिइन् ।
हाललाई यो कार्यक्रम पालिका भित्र सञ्चालित माध्यमिक विद्यालयमा मात्रै सिमित भए पनि निकट समयमै अन्य तहका विद्यालयहरुमा पनि सुरु गर्ने पालिकाको योजना छ । अभियानमा अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरु, पालिकाका शिक्षा शाखासँग सम्बद्ध अधिकारी, अन्य सरोकारवाला लगायतको सहभागिता रहनेछ ।
