चरिकोट, २३ फागुन । दोलखा सदरमुकाम चरिकोटमा जारी ‘प्रथम बागमती प्रदेश स्तरीय अन्तर पालिका सहिद रित बहादुर खड्का स्मृति भलिबल प्रतियोगिता’मा लिग चरणका खेलहरु सम्पन्न भएका छन् ।
भीमेश्वर रङ्गशालामा जारी प्रतियोगितामा बागमती प्रदेश भरका १४ ओटा टिमले सहभागिता जनाएका थिए, जसमध्ये मन्थली नगरपालिका, बागमती गाउँपालिका, विगु गाउँपालिका, जिरी नगरपालिका, लिखु तामाकोशी गाउँपालिका, मेलम्ची नगरपालिका, कमलामाइ नगरपालिका र गौरीशङ्कर गाउँपालिकाले क्वार्टर फाइनलको यात्रा तय गरेका छन् । प्रतियोगिताको क्वार्टर फाइनल खेलहरु बिहिबार विहानबाट सुरु हुने आयोजक दोलखा युवा सञ्जालका अध्यक्ष पुष्कर कुमार अधिकारीले जानकारी दिए । क्वार्टर फाइनलको पहिलो खेल मन्थली नगरपालिका र बागमती गाउँपालिका बीच हुनेछ ।


सहिद सप्ताहको अवसर पारेर सहिद रितबहादुर खड्काको स्मृति र कृतित्वलाई कायम राख्दै दोलखाको पर्यटन प्रबर्धनमा समेत सहयोग पुर्याउने उद्देश्यले आयोजित प्रतियोगिता यही शुक्रबारसम्म चल्नेछ । दोलखामा अहिलेसम्म आयोजित भलिबल प्रतियोगिता मध्ये सबैभन्दा धेरै पुरस्कार राशि रहेको यो प्रतियोगिताको बिजेता टोलीले२ लाख ५१ हजार र उपबिजेताले १ लाख ५१ हजार नगद पुरस्कार पाउनेछन् ।
