चरिकोट, २५ फागुन । ‘प्रथम बागमती प्रदेश स्तरीय अन्तर पालिका सहिद रित बहादुर खड्का स्मृति भलिबल प्रतियोगिता’को उपाधी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले जितेको छ ।
दोलखा सदरमुकाम चरिकोट स्थित भीमेश्वर रङ्गाशालामा शुक्रबार भएको फाइनल खेलमा दोलखाको जिरी नगरपालिकालाई सोझो सेटमा हराउँदै मेलम्चीले उपाधी जितेको हो । खेल प्रतिस्पर्धात्मक देखिए पनि जिरीका खेलाडीले लगातार तेस्रो सेटसम्म जित निकाल्न नसकेपछि दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भए । जितसँगै मेलम्चीले दुई लाख एकाउन्न हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने जिरीले एक लाख एकाउन्न हजारमा चित्त बुझाउन बाध्य भयो ।
साथै शुक्रबार विहान भएको प्रतिस्पर्धामा रामेछापको मन्थली नगरपालिकालाई स्तब्ध पार्दै सिन्धुलीको कमलामाई नगरपालिकाले तेस्रो स्थान हासिल गर्यो । उसले पनि एकाउन्न हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्त्वना स्थानमा चित्त बुझाएको मन्थलीले एक्काइस हजार नगद र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगितामा मेलम्चीका रोशन तमाङ उत्कृष्ट खेलाडी घोषित भए भने उत्कृष्ट सेटर पनि मेलम्चीकै कृष्ण तमाङ भए । त्यस्तै जिरीका सम्पूर्ण काफ्ले उत्कृष्ठ स्पाइकर र निश्चल कार्की उत्कृष्ट डिफेण्डर भइरहँदा कमलामाईका हरि बहादुर चौहान उत्कृष्ट ब्लकर घोषित भए । उनीहरुलाई ट्रफि र जनही पाँच हजार नगद सहित सम्मान गरियो । त्यस्तै उत्कृष्ट व्यवस्थापकको उपाधी मन्थलीका देवेन्द्र श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक मेलम्चीका नारायण गिरी घोषित भए
पूर्वको चम्किलो ताराको नामले प्रसिद्ध जनयुद्धका सहिद रितबहादुर खड्काको स्मृतिका साथै दोलखाको पर्यटन प्रबर्धनमा समेत सहयोग पुर्याउने उद्देश्यले युवा सञ्जाल दोलखाले आयोजना गरेको प्रतियोगितामा बागमती प्रदेश भरका १४ ओटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगितााका बिजयी खेलाडीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानी, नेकपा माओवादी केन्द्रका नेता सन्तोष केसी, सञ्जालका अध्यक्ष पुष्कर कुमार अधिकारी, उपाध्यक्ष नवराज अर्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।