चरिकोट, १० चैत्र । देशका विभिन्न भूभागमा आज आंशिक बदली भइ केही स्थानमा वर्षा भइरहेको छ । राजधानी काठमाण्डौमा मध्यरातदेखि परेको वर्षा विहान केहीबेर रोकिए पनि यो समाचार तयार पार्दा पुनः भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाण्डौ उपत्यका सहित दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, उदयपुर, मकवानपुर, चितवन लगायतका जिल्लाका विभिन्न स्थानमा अहिले पनि वर्षा भइरहेको छ । यो क्रम दिनभर जसो नै रहने विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।


पछिल्लो १२ घण्टामा कोशी र गण्डकी प्रदेशमा भारी वर्षा मापन भएको छ । मौसमविद् झाका अनुसार आगामी तीन दिनसम्म बागमती, कोशी र गण्डकी प्रदेशमा राम्रै वर्षा हुनेछ । लगातार वर्षा नभए पनि रोकिँदै पर्दै गर्ने विभागले जनाएको छ ।
