दोलखा, १२ बैशाख । सहकालका देवता भनेर चिनिने मच्छिन्द्रनाथको जात्रा प्राचिन दोलखा बजारमा सुरु भएको छ ।
नौ दिनसम्म चल्ने जात्राको पहिलो दिन मङ्गलबार मच्छिन्द्रनाथको मुर्तिलाई विधिवत रुपमा दुधस्नान गराइएको छ । दोलखा बजार स्थित डोकलुङ्गा टोलमा रहेको मच्छिन्द्र घरमा परम्परागत स्थानीय बाजागाजाका साथ मुर्तिलाई दुधस्नान गराइएको हो । जात्रा अन्तर्गत बुधबार पिङ्गल टोलमा रहेको रथमा विधिवत् रथारोहण गराइनेछ भने बिहिबारबाट रथयात्रा सुरु हुनेछ । पिङ्गल टोलबाट सुरु हुने रथयात्रा नक्छे, कोर्छे, टसिचा, माथिल्लो स्वयम्भुथान, दुङ्गल लगायतका टोल हुँदै पुनः पिङ्गल टोलमा गएर टुङ्गिने र विधिवत् रुपमा मच्छिन्द्र घरमा मच्छिन्द्रनाथको मुर्तिलाई बिराजमान गराएपछि जात्रा सम्पन्न हुने स्थानीय अगुवा इन्द्रलाल श्रेष्ठले जानकारी दिए ।
मच्छिन्द्रनाथको यो रथयात्रालाई स्थानीय नेवारी भाषामा बुग्देउ भनिन्छ । कुखुराको मासु एवं अण्डा सेवन गरेर रथ छुन नहुने मान्यता रहेको यो यात्राका अवसरमा स्थानीय महिलाहरु ब्रत बसी पूजा गर्ने गर्दछन् । दोलखा बजारमा मनाइने प्रमुख जात्रा मध्येको एक मच्छिन्द्रनाथको जात्रामा ब्रत बसी दर्शन गरे खेतीपाती राम्रो हुने, रोगब्याधी नलाग्ने, विपद्हरु हटेर जाने जनविश्वास रही आएको छ । दोलखामा नेपाल संवत ६३९ अर्थात वि.सं. १५७५ देखि यो जात्रा सुरु भएको मानिन्छ ।