दोलखा, १३ बैशाख । केही वर्ष अगाडीसम्म गहुँ, केराउ, तोरी, फापर जस्ता अन्नबालीका बाला लहराउने दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीका किसानका खेतबारीमा अहिले जै घाँसको बाला लहराएको देख्न सकिन्छ । बाँदर लगायत अन्न खाने जङ्गली जनावरको डर पनि कम हुने र अन्य अन्न बाली भन्दा उत्पादन धेरै भइ आम्दानी समेत राम्रो हुने भएपछि किसानहरु अन्नबाली छोडेर घाँस खेतीतर्फ आकर्षित भएका हुन् ।
गहुँ लगायतका अन्न र तरकारीबालीमा बाँदर, मृग लगायतका जङ्गली जनावरको बासै हुने गर्दछ तर जै घाँसको खेतीमा भने त्यति धेरै क्षति नपुर्याउने किसानहरु बताउँछन् । यसका साथै अन्य अन्नबाली भन्दा उत्पादन पनि राम्रो हुने र घरैबाट बिक्री समेत हुने भएपछि किसानहरु घाँस खेतीमा आकर्षित भएका हुन् । साथै हिउँदको समयमा गाइवस्तुलाई हरियो घासको अभाव समेत नहुने किसानहरुको भनाइ छ । “एक दुई पटक काटेर हाले पनि फेरी पलाएर आउँछ”, स्थानीय कृषक दधिराम शिवाकोटीले जनतापेजसँग भने, “त्यो पलाएकोबाट पनि राम्रो उत्पादन हुन्छ, त्यही घाँसको दाना पिसेर गाइवस्तुलाई खोलेको रुपमा दिन पनि सकिन्छ, धेरै भए बेच्न पनि सकिन्छ ।”
जै घाँसको बालालाई झारेर सुकाएर भएसम्म अन्य अन्नसँग मिसाएर नभए त्यतिकै पिसेर बाख्रा, गाई, भैसीलाई दानाको रुपमा प्रयोग गर्ने गरिएको छ । बढी भएको घाँस घरबाटै ५५ देखि ६० रुपैयाँ केजीसम्म विक्री हुने भएपछि किसानहरु यसको खेतीमा लागेका हुन् । किसान राम प्रसाद पाठक घरका गाइवस्तुलाई खुवाएर बचेको घाँस बेचेरै एक पटकमा तीस हजार भन्दा बढी आम्दानी गरेको अनुभव सुनाउँछन् । विगत चार वर्षदेखि घाँस खेती गर्र्दै आएका किसान प्रदिप पाठक पनि एक सिजनमा कम्तीमा ४० देखि ५० हजारसम्मको घाँस बेच्छन् । “घाँसको ठाउँमा गहुँ लगाएको भए त काम गरेको ज्याला उठ्न पनि धौधौ हुन्थ्यो”, उनी भन्छन् । थोरै जग्गामा अन्यबालीको तुलनामा उत्पादन धेरै हुने र बजार पनि राम्रो भएकाले आफूले पनि घाँसकै खेती गरेको किसान माधव प्रसाद थपलिया बताउँछन् ।
जै घाँसको दाना मात्रै होइन, छ्वाली पनि गाइवस्तुले निकै रुचाउने गर्दछन् । गाउँमा उत्पादनशील जनशक्तिको कमी हुँदै जाँदा मानिसहरुको प्रमुख पेशा पशुपालन हुँदै गएको छ । जै घाँसलाई पशुहरुले पनि मन पराउने र पोषिले समेत हुने भएपछि दुध उत्पादक किसानहरुले झनै धेरै फाइदा लिइरहेका छन् ।
गाउँघरमा युवा जनशक्तिको अभावमा अचेल धेरै खेतबारी बाँझै छन् । खेती भएका खेतबारीमा पनि किसानहरुले अन्नबाली भन्दा घाँसबाली लगाउँदा गाउँमा अन्नबालीको भने बिस्तारै अभाव हुँदै गएको र कहिँकतै पाईहालेमा पनि महङ्गो मूल्य तिर्नुपर्ने बाध्यता बढेर गएको छ । त्यसो त किसानहरु रहरले घाँसखेतीमा पक्कै आकर्षित भएका भने होइनन् । उत्पादन राम्रो र सहज बजारका अलावा घाँस खेतीका लागि अन्नबालीको जस्तो उन्नत बिउँ, बढी मूल्य, महङ्गो रासायनिक मल, कृषि प्राविधिक, विषादी जस्ता कुराको झन्झट पनि खेप्नु नपर्ने भएपछि उनीहरुको आकर्षण यसतर्फ बढेको अनुमान गर्न सकिन्छ । यसर्थ गाउँघरमा अन्नबालीको अभाव हुन नदिने हो भने स्थानीय सरकारले कृषकहरुलाई उँन्नत जातका अन्नबालीको बिउबिजन, रासायनिक मलखाद, कृषि उपकरण, प्राविधिक सहयोग, कृषि प्रविधि र तालिम जस्ता कुरामा सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ ।