शैलुङ, १५ बैशाख । दोलखाको प्रसिद्ध पर्यटकीय क्षेत्र शैलुङमा पर्यटकहरुको आगमन बढेको छ । धार्मिक एवम् प्राकृतिक सौन्दर्यका दृष्टिले यसै पनि चर्चित शैलुङ क्षेत्रमा मिनी ग्रेटवाल निर्माण भएपछि आन्तरिक एवं बाह्य पर्यटकको आगमन झनै बढेको छ ।
शैलुङ क्षेत्रको कालापानीदेखि डाँफेढुङ्गासम्म पाँच सय मिटर लामो मिनि ग्रेटवालको निर्माण अन्तिम चरणमा छ । ९५० मिटर लामो ग्रेटवाल निर्माणको लागि डिपिआर तयार भए पनि हाललाई ५ सय मिटर मात्र ग्रेटवाल निर्माण गरिएको छ । नेपाल सरकारले मुलुक भित्र रहेका महत्त्वपूर्ण १०० वटा पर्यटकीय स्थानमा पर्यटन पूर्वधार निर्माण गर्ने निर्णय गरेसँगै शैलुङ क्षेत्रमा मिनि ग्रेटवालको प्रस्ताव गरिएको थियो । सोही अनुसार ग्रेटवाल निर्माणको लागि संघीय सरकारको ७० प्रतिशत र शैलुङ गाउँपालिकाको ३० प्रतिशत बजेट बिनियोजन भएको थियो । शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष भरत प्रसाद दुलालका अनुसार कुल ४ करोड ९४ लाख १५ हजार ७ सय १८ रुपैयाँमा ग्रेटवाल निर्माणको काम अगाडि बढाइएको थियो ।
![Ads](https://janatapage.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-06-at-20.21.07_58a66bc6.jpg)
![Ads](https://janatapage.com/wp-content/uploads/2023/06/250x2503.gif)
![](https://janatapage.com/wp-content/uploads/2024/04/437540640_938751067700460_1544195634487361076_n-1024x642.jpg)
![](https://janatapage.com/wp-content/uploads/2024/04/439727077_938750894367144_1723575577972280917_n-1024x637.jpg)
मिनि ग्रेटवालसँगै कालापानी क्षेत्रमा व्यवस्थित होटल, लजहरु खुल्ने क्रम पनि बढेकाले अहिले छोटो समयका लागि घुम्ने आन्तरिक पर्यटकहरुको प्रमुख रोजाई शैलुङ क्षेत्र बनेको छ । राजधानी काठमाण्डौबाट मनोरम प्राकृतिक वातावरणमा एक दिनको छुट्टी मनाउन चाहनेहरुका लागि शैलुङ उत्कृष्ट गन्तब्य बनेको छ । २०८१ सालको बैशाख १ गते अर्थात नयाँ वर्षको पहिलो दिन त शैलुङका सय वटै थुम्कामा पर्यटकहरुले भरिभराउ भएको थियो । एक पटक शैलुङ्ग भ्रमण गरेर जानेहरु जो कोहीले पनि शैलुङ्गको सुन्दरता र धार्मिक महत्त्वको बारेमा मुक्तकण्ठले प्रशंसा गर्ने गर्दछन् ।
प्राकृतिक सुन्दरताका साथै धार्मिक दृष्टिकोणले समेत शैलुङ क्षेत्र महत्वपूर्ण मानिन्छ । साँच्चो मनले जे चितायो त्यो पूरा गरिदिने शैलुङ्गेश्वर महादेव मन्दिर, धर्मद्वार, बौद्ध च्छ्योर्तेन, डाँफे ढुङ्गा, गङ्गटो ढुङ्गा, बाघ ढुङ्गा, दाँइ गर्ने डाँडो लगायत थुप्रै प्राकृतिक एवम धार्मिक दृष्टिकोणका स्थलहरु शैलुङ क्षेत्रमा पर्दछन् ।
![](https://janatapage.com/wp-content/uploads/2024/04/d9f181a9-8ea1-4908-bf5d-61af43cddacb-1024x574.jpg)
![](https://janatapage.com/wp-content/uploads/2024/04/ce5b6995-76d3-4874-80ee-9a91fbb20983-1024x562.jpg)
शैलुङमा प्रत्येक वर्षको जनै पूणिर्माको समयमा ठूलो मेला लाग्ने गर्दछ । त्यस्तै प्रत्येक १२ वर्षको फरकमा शैलुङेशवर महादेव र शैलुङ देवीको मन्दिरमा गोदवारी खुल्ने र उक्त समयमा गएर गोदावरी नुहाएमा आफ्नो मनोकांक्षा पूरा हुने र जानी नजानि गरेका सबै पापहरु पनि पखालिने जनविश्वास गरिन्छ । उक्त समयमा महादेव मन्दिर र देवी मन्दिर रहेको ढुंगाको पहरामा अवस्थित गाईको थुनको आकारबाट सेतो दूध जस्तै तरल पदार्थ झर्ने र उक्त तरल पदार्थलाई साक्षात गाईको दूध सम्झी गोदावरी नुहाउन जाने भक्तजनहरुले सोही दुधले स्नान गर्ने गर्दछन् । यो बाहेक तीज, श्रीकृष्ण जन्माष्टमी, बाला चतुर्दशी, धान्य पूर्णिमा, महाशिबरात्री र बुद्ध पूर्णिमा जस्ता धार्मिक पर्वहरुमा पनि शैलुङ क्षेत्रमा मेला लाग्ने गर्दछ ।
यद्यपी शैलुङ क्षेत्रमा आउने पर्यटकहरुले पर्याप्त मात्रामा व्यवस्थित र सहुलियत दरका सुविधाहरु भने कमै मात्रामा पाउने गरेका छन् । साथै सडक सुविधाको गुणस्तर वृद्धि हुन नसकेका कारण ठूला सवारी साधनमा आउने ठूलो समूहका पर्यटकहरु उक्त क्षेत्रमा पुग्न सकेका छैनन् । यसका लागि सबै प्रकारका पर्यटकहरुलाई सुविधा हुनेगरी सामान्य देखि सुविधा सम्पन्न रिसोर्ट, होटल, लज र खाजाघरका साथै सडक, सवारी साधन, सुरक्षा लगायत आवश्यक संरचनाको विकास र विस्तार गर्न सके शैलुङ क्षेत्र दोलखाको मात्रै नभइ देशकै एउटा प्रमुख गन्तब्य बन्ने कुरामा दुइमत नहोला ।
![Ads](https://janatapage.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-06-at-19.07.05_638dc152.jpg)