दोलखा, २९ बैशाख । बाह्र बुँदे च्यामा घोषणापत्र जारी गर्दै नेपाल रेडक्रस सोसाइटी दोलखाले आयोजना गरेको २९ औँ जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी शनिबार सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ६ च्यामा स्थित महेन्द्र माविको व्यवस्थापनमा शुक्रबार र शनिबार दुई दिनसम्म चलेको गोष्ठीले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि सबै जुनियर तथा युवा रेडक्रस स्वयंसेवकहरुले अनुकुलक भूमिका निर्वाह गर्ने साथै उद्यमशीलता विकास, विपद् न्युनिकरण, रक्त सन्चार, सडक सुरक्षा, साइबर बुलिङ व्यवस्थापन, व्यवहार परिवर्तन, सामुदायिक उत्थानशीलता परिवर्तन, बसाइसराइ, महिनावारी स्वच्छन्दता लगायतका क्षेत्रमा युवा नेतृत्वका गतिविधि बढाउने लगायतका १२ बुँदे घोषणा पत्र जारी गरेको हो ।
शुक्रबार एक विशेष समारोहका बीच तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले उद्घाटन गरेको गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका जुनियर तथा युवा विभाग उपप्रमुख लिला खनाल, नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति इश्वरी प्रसाद दहाल, पूर्व सभापति एवं रक्त सन्चार केन्द्र दोलखाका अध्यक्ष गोकर्ण पोखरेल लगायतले विभिन्न विषयमा सहजीकरण गरेका थिए । जिल्लाभरका ३१ ओटा शैक्षिक संस्थाका शिक्षक नायक एवं युवा तथा जुनियर सर्कलका सदस्य सहभागिता रहेको गोष्ठीमा रेडक्रस जिल्ला शाखाका महिला उपसभापति रिता रिमाल, सदस्य एवं युवा तथा जुनियर उपसमिति प्रमुख नवराज पाठक, जिल्ला कमिटी सदस्य राधादेवी मास्के लगायतको उपस्थिती रहेको थियो ।
गोष्ठी अघि शुक्रबार विहान स्थानीय बजारमा प्रभातफेरी गरिएको थियो । गोष्ठीले ३० औँ जिल्ला स्तरीय युवा तथा जुनियर रेडक्रस गोष्ठी कालिन्चोक ९ स्थित कालिका माविमा गर्ने निर्णय पनि गरेको छ ।