चरिकोट, ३० जेठ । गाउँमा बाँदर आतङ्क मच्चिएपछि दोलखाको मेलुङ गाउँपालिकाका किसानहरु बाँदर आतङ्क नियन्त्रण गर्न माग गर्दै बुधबार सदरमुकाम चरिकोटमा भेला भए ।
विशेषगरी मेलुङ ७ का किसानहरु चरिकोट आएर बाँदरले सखाप पारेका मकैका रित्ता बोट र खोस्टा लिएर प्रशासन कार्यालयको प्राङ्गण पुगे र बाँदर नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराए । साथै जिल्ला स्थित राजनीतिक दलहरुको समेत कार्यालयमै पुगेर किसानहरुले बाँदर नियन्त्रणका लागि उपर्युक्त नीति निर्माणमा लाग्न लिखित दवाव दिए ।
यतिबेलाको प्रमुख बाली मकैलाई बाँदर ओइरो–खेदो गरेपछि किसानहरु आजित भएका हुन् । बाँदरले भर्खरै सुत्ला च्यापेका मकै नष्ट गर्नुको साथै करेसाबारीसम्म पुगेर अन्य बालीमा समेत क्षति पुर्याउने गरेको छ । गाउँमा बाँदरको हुल पसेपछि सारा गाउँले लाग्दा पनि बाँदर धपाउन हम्मे हम्मे पर्छ । विशेषगरी महिला र बालबालिकाका बाँदरको कारण असुरक्षित समेत बनेका छन् । सोही ठाउँमा बाँदर धपाउने क्रममा गत वर्ष एक महिलाको मृत्यु समेत भएको थियो । यस वर्ष पनि सोही ठाउँका केही महिलाहरु बाँदरले टोकेर घाइते भएको मेलुङ ७ का वडा अध्यक्ष वडाध्यक्ष नवराज खड्काले जानकारी दिए । बाँदरको हुलका कारण विद्यालय जाने आउने बालबालिका पनि त्रसित छन् ।
बाँदर मात्रै होइन मृग, दुम्सी लगायतका अन्य वन्यजन्तुले पनि किसानको बालीमा क्षति पुर्याउने गरेका छन् । सदरमुकाम आएका किसानहरुले बाँदर जोगाउने की जनता जोगाउने भन्दै बाँदर नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्न माग गरेका थिए । उनीहरुले सरकारले नसक्ने भए किसानलाई हतियार राख्न र बाँदर मार्न अनुमति दिनुपर्ने जिकिर समेत गरे । किसानको प्रदर्शनमा मेलुङ गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष सहित केही जनप्रतिनिधिहरु पनि सहभागि थिए ।
मेलुङ ७ का वडाध्यक्ष खड्काले किसानको तर्फबाट ध्यानाकर्षण पत्र बुझाउँदै किसानहरुलाई उचित क्षतिपुर्तिका लागि पहल गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरिएको बताए । किसानको मागपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरलले किसानका समस्या सम्बन्धित निकायसम्म पुर्याएर समस्या समाधानको पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।