दोलखा, १२ असार । दोलखाको मेलुङ गाउँपालिकाले २०७९ सालमा विभिन्न परीक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण भएका विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
मङ्गलबार एक समारोहको आयोजना गरी २०७९ सालमा पालिकाभरका सामुदायिक विद्यालयबाट कक्षा ८, एसइई र कक्षा १२ को परीक्षामा ३.२१ भन्दा बढी जिपिए ल्याएर उत्तीर्ण भएका २६ जना विद्यार्थीहरुलाई नगद र प्रंशसा पत्र सहित पुरस्कृत गरेको हो । जसमा कक्षा ८ बाट १० जना विद्यार्थी जनही १४ हजार र एसइई तर्फ १४ जना जनही २१ हजार नगद सहित पुरस्कृत भएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत गोविन्द बस्नेतले जानकारी दिए । त्यस्तै एसइई परीक्षामा पालिकाबाट उत्कृष्ट हुने एक जनालाई नगद २४ हजार र कक्षा १२ बाट उत्कृष्ट एक जनालाई २९ हजार नगद सहित सम्मानित गरिएको छ ।


उत्कृष्ट विद्यार्थीहरुलाई गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङ, उपाध्यक्ष गायत्री आचार्य, सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर १ का अध्यक्ष इश्वर कोइराला लगायतले सम्मानित गरेका थिए । गाउँपालिका अध्यक्ष तामाङले विद्यार्थीहरुलाई अध्ययनमा थप प्रोत्साहन होस् भनेर पालिकाले यो कार्यक्रम अघि सारेको भन्दै विद्यालय स्तर मात्र नभई क्याम्पस तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि प्रोत्साहन गरिने बताए । त्यस्तै उपाध्यक्ष आचार्यले विद्यार्थी र स्थानीय सरकारबीचको सम्बन्ध थप प्रगाढ बनाउन पनि यस्ता कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
