काठमाण्डौ, १४ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा एनजी ल्याउने अर्थात अनुत्तिर्ण हुने सबै विद्यार्थीलाई मौका परीक्षाको अवसर दिइने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार बसेको मन्त्री स्तरीय बैठकले २ भन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षामा सामेल हुने मौका दिने निर्णय गरेको हो । परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिका अनुसार दुई भन्दा बढी विषय लागेका विद्यार्थी मौका परीक्षामा सहभागि हुन पाउँदैनन् । तर यही वर्षबाट यो निर्देशिका लागु गरिएकाले एक पटकका लागि सबै अनुत्तिर्ण विद्यार्थीहरुलाई पूरक परीक्षामा सामेल हुने मौका दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता केशव प्रसाद दाहालले सबै विद्यार्थीले मौका परीक्षामा सहभागि हुन पाउनेगरी व्यवस्था मिलाउन राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्र, सबै जिल्लाका शिक्षा समन्वय इकाई लगायत मातहतका निकायलाई निर्देशन दिइसकिएको जानकारी दिए ।
परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको एसइई परीक्षाको नतिजामा २ लाख २२ हजार ६९३ जना विद्यार्थी अनुत्तिर्ण भएकोमा १ लाख २६ हजार ४७९ विद्यार्थीलाई २ भन्दा बढी विषय लागेको थियो । मन्त्रालयको आजको निर्णयसँगै यी सबैले मौका परीक्षा दिन पाउने भएका छन् ।