दोलखा, १५ असार । आज असार पन्ध्र गते, नेपालभर एक्काइसौँ धान दिवस विविध कार्यक्रमका साथ मनाउनुका साथै दही–चिउरा समेत खाइँदैछ ।
धान दिवसका लागि यस वर्ष “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नारा तय गरिएको छ । सन् २००४ मा संयुक्त राष्ट्रसंघले अन्तराष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेसँगै नेपालमा पनि विगत २० वर्षदेखि धान दिवस मनाइँदै आएको छ ।
नेपाल सरकार कृषि मन्त्रालयले आज चितवनको बछौलीमा डेढ विघा जमिनमा रोपाइं गरेर २१ औँ धान दिवस एवं रोपाइँ महोत्सव मनाउँदैछ । यसअघि काठमाण्डौ उपत्यका भित्र आयोजना हुने सरकारी समारोह पहिलो पटक उपत्यका बाहिर आयोजना हुन लागेको हो ।
यद्यपी, धान दिवसका दिन विशेष कार्यक्रम गरेर रोपाइँ महोत्सव मनाउने गरिएता पनि धान खेती हुने क्षेत्रफल भने घट्दै गएको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा कुल धानबाली भित्र्याइएको क्षेत्रफल गत आव भन्दा ०.६१ प्रतिशत अर्थात् ८ हजार ८ सय हेक्टरले कमी भएको कृषि विभागले जनाएको छ । अहिले धान खेती हुने क्षेत्र १४ लाख ३८ हजार ९ सय ८९ हेक्टर कायम हुन पुगेको छ । यो क्षेत्रफल गएका चार आर्थिक वर्षको औसत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशतले कम हो ।
तर धान खेति हुने क्षेत्रफल घटे पनि उत्पादन भने केही बढेको छ । चालु आर्थिक वर्षका् कुल धान उत्पादन गत आर्थिक वर्ष २०७९/८० भन्दा ४.३३ प्रतिशतले वृद्धि भएको हो । चालु आवमा धानको उत्पादन ५७ लाख २४ हजार २ सय ३४ टन पुगेको छ, जुन चार वर्षको औसत उत्पादन तुलनामा ५.०८ प्रतिशतले बढी रहेको कृषि विभागले जनाएको छ । यसरी क्षेत्रफल घटेपनि उत्पादन बढ्नुमा उन्नत बिउ उपलब्धता र प्रयोग, रोग किरा प्रकोपमा कमी, बाढी–पहिरोबाट धान बालीमा पर्न जाने नकरात्मक असरमा कमी, मलखाद उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधि प्रयोग तथा मौसमी अनुकूलता आदिलाई कारक तत्व मानिएको छ ।
त्यसो त धान उत्पादन बढे पनि धान र चामलको आयातमा भने कुनै कमि आएको छैन । चालु आर्थिक वर्षको एघार महिनामा नेपालमा २० अर्ब रुपैयाँ बराबरको धान–चामल आयात भएको कृषि मन्त्रालयको तथ्याङ्क छ ।
दही–चिउरा खाइँदै
नेपाली संस्कृति अनुसार खेतमा रोपाइँ गरी दही–चिउरा खाने भएकाले आजको दिनलाई दही–चिउरा खाने दिनका रूपमा लिने गरिन्छ । वर्षायाममा हिलाम्य भएको शरीरलाई दही खाँदा ऊर्जा दिने भएकाले दही–चिउरा खाने चलन रहेको सरोकारवालाहरु बताउँछन् ।
दही–चिउरा खाने परम्परा स्वास्थ्यका दृष्टिकोणले मात्र नभइ स्वदेशी उत्पादनको खपतका दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । आजको दिन देशभर दहीको खपत बढ्ने दुग्ध व्यवसायीहरुको भनाइ छ । दही–चिउरा खाने दिन मात्रै दहीको कारोबार करिब १ अर्ब ४० करोड रुपैयाँको हुने अनुमान गरिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताए । उनका अनुसार असार १५ मा देशभर करिब ८० लाख लिटर दही खपत हुने अनुमान छ ।
यस्ता छन् दही खानुका फाइदा:
- दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्त्वका कारण स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ,
- दही मुटुको समस्या र उच्च रक्तचापका बिरामीलाई फाइदाजनक मानिन्छ,
- पेटसम्बन्धी समस्या हुनेलाई दही अत्यन्त उपयोगी मानिन्छ,
- अरुचिको समस्या भएकालाई दहीको सेवन गरेमा भोक लाग्न थाल्दछ,
- आन्द्रा तथा पेट सम्बन्धी रोगहरूमा दहीको नियमित सेवनले फाइदा पुर्याउँछ,
- दही खानाले उच्च रक्तचाप नियन्त्रणमा सघाउ पुर्याउँछ,
- दही नियमित खाएको खण्डमा कोलस्ट्रोल स्तर बढ्नबाट रोक्दछ,
- मुटुको धड्कन बढ्ने समस्यामा पनि दही लाभदायी हुन्छ,
- दही खानाले हड्डीहरूको विकासमा सहयोग पुर्याउँछ,
- दाँत, नङ बलियो पार्न पनि दही खानु उपयोगी हुन्छ,
- अनिन्द्राका समस्या भएकाहरूले दैनिक एक कचौरा दही खाएमा राम्रो निन्द्रा पर्न थाल्दछ,
- दैनिक दही खाँदा पाचन प्रक्रिया राम्रो बनाउन सहयोग पुर्याउँछ ।