काठमाडौं, १७ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र वर्तमान सरकारको एउटा सहयात्री दल नेकपा एमालेबीच गय भएको सत्ता समिकरणको निर्णयसँगै आन्तरिक परामर्शमा जुटेका प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार विहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने बरु विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । सचिव देवेन्द्र पौडेलले अहिले प्रधानमन्त्री गलेर राजीनामा नदिने र संविधान बमोजिम संसदमा विश्वासको मतको सामना गर्ने निर्णय भएको जानकारी दिए । यद्यपी अहिले नै सरकारलाई समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिइ नसकेकोले कहिले विश्वासको मत लिने भन्ने तय भएको छैन ।
मूलतः सरकारमा सहभागि कुनै दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिन प्रधानमन्त्री समक्ष ३० दिनको समय रहन्छ । त्यसबाट प्रधानमन्त्रीले विश्वासको मत नपाएमा मात्रै नयाँ सरकार गठनको बाटो खुल्नेछ । तर संविधानमा भएको व्यवस्था अनुसार यदी हालका प्रधानमन्त्रीले विश्वासको मत नपाएमा राष्ट्रपतिले संसदको सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ । जसअनुसार नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्न सक्छन् र प्रधानमन्त्री बन्ने एमाले अध्यक्ष ओलीको सपना तुहिन पनि सक्छ ।
माओवादी पदाधिकारी बैठकले दुई दल मात्रै मिलेर मध्यरातमा गरेको सहमतिबाट राष्ट्रिय सहमति नबन्ने निष्कर्ष पनि निकालेको छ । कांग्रेस र एमाले मिलेर फेरी २०४७ को व्यवस्थातिर फर्कन खोजेको भन्दै माओवादी पदाधिकारी बैठकले अन्य दलहरुसँग सघन छलफल चलाउने निर्णय पनि गरेको छ ।