मेलुङ, १९ असार । दोलखाको दक्षिणी मेलुङ गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । बुधबार गाउँपालिकामा बसेको गाउँसभाको पन्ध्रौँ अधिवेशनको तेस्रो बैठकले आगामी आवका लागि ५४ करोड ६७ लाख ९ हजार बराबरको बजेट पारित गरेको हो ।
उक्त गाउँपालिकाले आगामी वर्षका लागि संघीय र प्रादेशिक सशर्त अनुदान तर्फ सबैभन्दा धेरै अर्थात २४ करोड ६ लाख ३४ हजार बजेट प्रक्षेपण गरेको छ । त्यस्तै संघ र प्रदेशको समानिकरण अनुदान तर्फ १२ करोड ७० लाख २२ हजार, विशेष अनुदान तर्फ १ करोड ६० लाख र प्रदेशको समपूरक अनुदान तर्फ २ करोड बजेट प्रक्षेपण गरिएको छ । त्यसै गरी नेपाल सरकार र बागमती प्रदेश सरकारको राजश्व बाँडफाँड अन्तर्गत १० करोड ५० लाख ३ हजार बजेट प्रक्षेपण गरिएको छ भने आन्तरिक राजश्व र अ.ल्या. समेत गरी आन्तरिक स्रोत तर्फ ४ करोड २५ लाख ५० हजार बजेटको प्रक्षेपण गरिएको छ ।
मेलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षमा चालु खर्च बाहेक पूँजीगत तर्फ सबै भन्दा बढी भौतिक पूर्वाधार विकासमा १४ करोड ८३ लाख ५५ हजार बिनियोजन गरेको छ , जसमा गाउँपालिकाको प्रशासकिय भवन निर्माण (बहुवर्षिय) का लागि ५ करोड ३ लाख ५५ हजार बिनियोजन गरिएको छ । त्यस्तै सडक निर्माण तर्फ ४ करोड र खानेपानी तर्फ १ करोड ६० लाख बिनियोजन भएको छ । त्यसैगरी वडागत पूर्वाधार विकास तर्फ वडा नम्बर १ र ४ लाई ६०÷६० लाख र बाँकी ५ ओटा वडालाई ५० लाखका दरले बजेट बिनियोजन भएको छ ।
विषयगत क्षेत्रमा शिक्षा तर्फ १ करोड ५० लाख, कृषि तथा पशुपन्छि तर्फ १ करोड ५० लाख, स्वास्थ्य तर्फ ७५ लाख, पञ्जिकरण तथा सामाजिक सुरक्षा तर्फ ४२ लाख ५० हजार र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक तर्फ १२ लाख ७० हजार बजेट बिनियोजन भएको छ । त्यसैगरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रम तर्फ ३० लाख, उद्यम विकास तर्फ १० लाख र न्यायिक समिति तर्फ १० लाख बजेज बिनियोजन भएको छ ।
गाउँसभाको बैठकमा अध्यक्ष हिरा कुमार तमाङ, उपाध्यक्ष गायत्री आचार्य र प्रमुख प्रशासकिय अधिकृत सन्जय शिवाकोटी लगायत वडा अध्यक्ष, वडा तथा कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । असारको पहिलो सात नै प्रस्तुत भएको नीति तथा कार्यक्रम एवं बजेट माथि विभिन्न चरणमा भएका छलफल र निर्णय सहित बजेट पारित भएको अध्यक्ष तामाङले जनतापेजलाई जानकारी दिए ।