सिङ्गटी, २२ असार । गयरातीदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले दोलखाको गौरीशङ्कर गाउँपालिकामा तीन ओटा होटल बगाउनुको साथै एक महिला बेपत्ता भएकी छिन् ।
छ्योछ्योत-सिमिगाउँ-च्छोरोल्पा पदमार्ग अन्तर्गत गौरीशङ्कर ९ डोडाङमा रोल्वालिङ खोलामा आएको बाढीले त्यहाँ सन्चालित तीन ओटा होटल र अन्य केही संरचना बगाएको र सोही स्थानमा होटल व्यवसाय गरिबस्ने अन्दाज ६५ वर्षकी जाङ्मु शेर्पा बेपत्ता भएको वडाध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार स्थानीयबासी खोजी तथा उद्धारमा जुटेका छन् । इलाका प्रहरी कार्यालय सिङ्गटीबाट प्रहरी टोली पनि घटनास्थल तर्फ परिचालन भईसकेको प्रहरी निरिक्षक विक्रम तामाङले जानकारी दिए । घटनाको अन्य विवरण आउन बाँकी छ ।
अविरल वर्षाका कारण दोलखाका अन्य स्थानमा पनि विभिन्न क्षतिको खबर छ । अहिले पनि पानी पर्ने क्रम नरोकिएकाले थप क्षतिबाट बच्न सचेतता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । तामाकोशी लगायत नदी तथा खोला किनारमा बसोबास गर्ने तटीय क्षेत्रका बासिन्दालाई थप सावधानी अपनाउन भनिएको छ ।