दोलखा, ०९ साउन । दोलखा भीमेश्वरको शिलामा बुधबार फेरी पसिना आएको छ ।
बुधबार मध्यान्ह १२ः४५ मा पसिना आउन सुरु भइ २ घण्टा २८ मिनेटपछि अर्थात ३ः१३ मा रोकिएको हो । दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र नारायण श्रेष्ठले भीमेश्वरको शिलाको तल्लो भागको चारै तिरबाट पसिना आएको जानकारी दिए । उनका अनुसार पसिना आएको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रपतिको कार्यालयमा जानकारी गराइसकिएको छ ।
भीमेश्वरको शिलामा एक साता भित्रै दोस्रो पटक पसिना आएको हो । यसअघि साउन ५ गते पनि २ घण्टा पसिना आएर रोकिएको थियो । भीमेश्वरको शिलामा पसिना आउनु देशमा हुने कुनै अनिष्ट वा ठूलो परिवर्तनको पूर्व सङ्केतको रुपमा लिने गरिन्छ । पसिना आएपछि पसिना पुछेको कपास महाप्रसादको रुपमा राष्ट्रप्रमुखकहाँ पठाउने र राष्ट्र प्रमुखका तर्फबाट क्षमापूजा गर्ने चलन रहिआएको छ ।