अहिले देशभरका ७४ ओटा जिल्लाामा डेङ्गुको संक्रमण फैलिएको छ । गर्मी मौसम र मनसुनी वातावरणका कारण डेङ्गुको फैलावटमा वृद्धि भएको हो । डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो, जुन विश्वका ट्रपिकल र सवट्रपिकल क्षेत्रमा बढी देखा पर्दछ । डेङगुका कारण विश्वभर हरेक वर्ष लाखौं मानिसहरु संक्रमित हुने र हजारौँको मृत्यु हुने गरेको छ । यो रोगको प्रकोप दक्षिण पूर्वी एसिया, पश्चिमी प्रशान्त महासागरिय टापुहरु , ल्याटिन अमेरिका र अफ्रिकी मुलुकमा सबैभन्दा बढी हुने गर्दछ ।
डेङ्गु कसरी एकबाट अर्कोमा सर्दछ?
डेङ्गु एडिस जातको लामखुट्टेको टोकाइ बाट सर्ने रोग हो । जसले जिका र चिकनमुनिया जस्ता भाइरस पनि बोकेको हुन्छ । एडिस लामखुट्टेले कुनै डेङ्गु संक्रमित व्यक्तिलाई टोक्छ र त्यही लामखुट्टेले अर्को स्वस्थ्य व्यक्तिलाई टोकेमा उसलाई पनि डेङ्गु संक्रमण हुन्छ । (यो एक बाट अर्को व्यक्तिमा सर्ने रोग होइन तर डेङ्गु संक्रमित गर्भवती आमा बाट भने सर्न सक्ने एक अध्ययनले देखाएको छ ) । डेङ्गुको भाइरस फैलाउने २ प्रकारका लामखुट्टे हुन्छन् । एडिस एजिप्टी वा एडिस अल्वोपिक्टस, यी दुई प्रकारका लामखुट्टेको टोकाइबाट मानिसमा डेङगुको संक्रमण हुने गर्दछ । यी दुवै प्रकारका लामखुट्टे गर्मी तथा वर्षातको समयमा मानव बस्ती वा मानवको आवास वरपर पाइन्छन् ।
डेङ्गु रोग वा डेङ्गु ज्वरो चार प्रकारका डेङ्गु भाइरस मध्य कुनै एकको कारणले हुन्छ । संक्रमित वरपर बसेर यो रोग सर्दैन वा डेङ्गु ज्वरो आउँदैन । डेङ्गु संक्रमित लामखुट्टेको टोकाइबाट मात्र डेङ्गु सर्दछ । डेङ्गु ज्वरोबाट निको भएपछि तपाईंलाई संक्रमित गर्ने भाइरसको प्रकारसँग दीर्घकालीन प्रतिरक्षा हुन्छ तर अन्य तीन डेङ्गु ज्वरो भइरसका प्रकारहरुमा हुँदैन । यसको मतलब तपाईं भविष्यमा अन्य तीन खालका भाइरस मध्य कुनै एकद्वारा फेरि संक्रमित हुने सक्ने सम्भावना हुन सक्छ । तपाईंलाई दोस्रो, तेस्रो वा चौथो पटक डेङ्गु लागेर डेङ्गु ज्वरो आएमा गम्भीर खालको डेङ्गु ज्वरो आउने खतरा बढ्छ, त्यसैले सतर्क रहनु अत्यन्तै जरुरी छ ।


डेङ्गु ज्वरो आएको हो होइन कसरी थाहा पाउने?
सर्वप्रथम त डेङ्गु ज्वरो हो वा अन्य प्रकारको ज्वरो हो भन्ने एकिन गर्न रगत परीक्षण गर्नु पर्दछ । तपाईंबाट लिइएको रगतको नमूना प्रयोगशालामा राखेर हेरिन्छ र बल्ल तपाईं डेङ्गु संक्रमित हो होइन यकिन गर्न सकिन्छ ।
गर्भवती महिलामा डेङ्गु संक्रमण भएमा कस्तो जटिलता आउँछ?
यदि कुनै महिला गर्भवती छिन् र उनी डेङ्गु ज्वरोबाट संक्रमित भएमा यसले शरिरको तौल कम गराउने, समय नपुगि बच्चा जन्मिने, गर्भ नै खेर जाने सम्मको समस्या उत्पन्न हुन सक्छ । त्यसैले गर्भावस्थाको समयमा आफू र आफ्नो गर्भमा रहेको बच्चालाई डेङ्गुबाट सुरक्षित राख्नको लागि गर्भवती आमाले विशेष सावधानी अपनाउनु अत्यन्तै जरुरी छ ।
डेङ्गु ज्वरोको लक्षण हरु के के हुन सक्छन्?
डेङ्गु लागेपछि उच्च ज्वरो आउँछ । ४० डिग्री सेल्सियस वा १०४ डिी फरेनहाइटसम्म ज्वरो आउन सक्छ । टाउको धेरै दुख्छ । आँखाको पछाडिको भाग अत्याधिक दुख्छ । मांसपेशी र जोर्नीहरुमा कडा दुखाई हुने, रिङ्गटा लाग्ने, बान्ता हुने, ग्रन्थीहरु सुन्निने र ४ देखि ७ दिनमा शरिरमा दादुरा जस्तै मसिना राता गुलावी विमिराहरु देखा पर्दछन् ।
डेङ्गु ज्वरो कहिले सम्म रहन्छ?
डेङ्गुको प्रारम्भिक लक्षणहरु तीन देखि सात दिन सम्म रहन्छ । यसपछि धेरैले ठीक भएको महसुस गर्न थाल्छन् भने केहीले थप गम्भिर अवस्था डेङ्गुको सामना समेत गर्नुपर्ने हुन्छ र नियमित चिकित्सकिय उपचारको आवश्यकता पर्दछ ।
गम्भीर डेङ्गु ज्वरो भनेको के हो?
गम्भीर डेङ्गु ज्वरोको लक्षण देखा पर्नु भनेको जीवनका लागि धेरै खतरा हुनसक्छ । ज्वरो हटेको २४ घण्टा पछि गम्भीर डेङ्गुको लक्षण देखिन्छ । संक्रमितको रक्तनलिहरुमा क्षति पुग्न गएको खण्डमा गम्भीर डेङ्गु हुन्छ । गम्भीर डेङ्गु भएमा मानिसको रगतमा प्लेटलेट्सको संख्या कम हुन जान्छ जसले गर्दा आन्तरिक रक्तश्राव हुन सक्छ र शरिरका अङ्गहरुले विस्तारै काम गर्न छोड्ने एवं बिरामीको मृत्यु समेत हुने सम्भावना रहन्छ । गम्भीर डेङ्गुको लक्षणहरु चाँडै विकास हुने भएकाले यसलाई प्राणघातक समेत भनिन्छ ।
गम्भिर डेङ्गुका लक्षणहरु के कस्ता हुन्छन् त?
पेट दुख्ने, लगातार बान्ता हुने, गिजा वा नाकबाट रक्तश्राव हुने , दिसापिसाब वा बान्तामा रगत देखिनु, श्वास फेर्न गार्हो हुनु, छिटोछिटो थकाइ महसुस हुने, चिडचिडाहट वा बेचैनी हुने, छालामुनी आन्तरिक रक्तश्राव हुन्छ र छालामा रातो घाउ जस्तो लक्षण देखिन सक्छ । यदि कसैलाई डेङ्गु लागेको छ वा डेङ्गु संक्रमण भएको स्थानमा बसेको छ भने माथि भनिएका मध्य कुनै एउटा मात्र लक्षण देखिएमा तुरुन्त नजिकको अस्पताल गएर जँचाई हाल्नु पर्दछ ।
हामीले डेङ्गुको लक्षणलाई कसरी व्यवस्थापन गर्न सक्छौं?
डेङ्गु ज्वरोको उपचार गर्ने खासै कुनै औषधी हुँदैन । डेङ्गु ज्वरोको उपचार गर्ने एकमात्र सरल र सजिलो उपाय भनेको लक्षणहरुको व्यवस्थापन गर्नु हो । डेङ्गुको सामान्य लक्षण देखिए वा शङ्का लाग्न साथ प्रशस्त पानी वा झोलिलो कुरा पिउने, धेरै आराम गर्ने, नआत्तिने र तनाव नलिने, ज्वरो नियन्त्रण गर्नको लागि पारासिटामोलको प्रयोग गर्ने ,जसले जे भन्यो त्यो औषधि नखाने, ज्वरो घट्छ र शरीर दुखेको कम हुन्छ भनेर इबुप्रोफिन, एस्पिरन आदिको प्रयोग भुलेर पनि नगर्ने, किनकि यी औषधिले आन्तरिक रक्तश्राव गराउने खतरा बढ्न सक्छ ।
डेङ्गु बाट कसरी बच्ने?
डेङ्गुबाट बच्ने प्रमुख उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने नै हो । डेङ्गुको भाइरस बोक्ने लामखुट्टे बिहान, दिउँसो, साँझ,राति जुनसुकै बेला सक्रिय रहने भएकोले जुनसुकै समयमा पनि टोक्न सक्छ । त्यसैले डेङ्गुबाट बच्न हामीले निम्न सावधानी अपनाउनु पर्दछ ।-
- पूरा बाहुला भएको कपडा लगाउने ।
- राति सुत्दा झुलको अनिवार्य प्रयोग गर्ने ।
- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने ।
- घर, विद्यालय, कार्यालय वा सार्वजनिक क्षेत्रमा अनावश्यक पानी जम्न नदिने ।
- घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी भए पुरिदिने, पुराना टायर, बाल्टी वा ड्रम छन भने तिनलाई हटाउने ।
- गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी नियमित फेर्ने यदि नियमित फेर्न नभ्याएको खण्डमा हप्ताको एक पटक अनिवार्य फेर्ने ।
- पानी जम्मा गर्ने वा राख्ने भाँडोलाई लामखुट्टे पस्न नस्सक्ने गरि छोपेर राख्ने ।
- बच्चालाई दिउँसो सुताउनु परे अनिवार्य झुलको प्रयोग गर्ने ।
- साँझ बिहान करेसाबारी, खेतबारीमा काम गर्दा, घरबाट बाहिर कतै निस्कँदा, पार्कमा बस्दा वा बालबालिकालाई पार्क आदिमा घुमाउन लैजादा लामखुट्टेले नटोकोस भनेर विशेष सावधानी अपनाउने ।
- यदि तपाईं गर्भवती हुनुहुन्छ भने सम्भव भए सम्म डेङ्गु संक्रमित क्षेत्रमा नजाने, आदी ।
माथि उल्लेखित सावधानीका उपायहरु अपनाउन सकेमा डेङ्गुबाट धेरै हदसम्म बच्न र बचाउन सकिन्छ । डेङ्गु बच्नको लागि खोप पनि प्रयोग गर्ने गरिएको छ । तर डेङ्गु भ्याक्सिन पहिले नै डेङ्गु संक्रमण भएको व्यक्तिलाई मात्र सिफारिस गरिन्छ । विश्व स्वास्थ्य सङ्गठन (WHO) ले डेङ्गु संक्रमित क्षेत्रमा डेङ्गुको भ्याक्सिन आफैंमा प्रभावकारी माध्यम नभएको बताएको छ । त्यसैले लामखुट्टेको टोकाइबाट बच्नु र बचाउन लामखुट्टेको सङ्ख्यालाई नियन्त्रण गर्नु नै डेङ्गु ज्वरो फैलनबाट बच्ने प्रमुख उपाय हो ।
(जनता पेजका अध्यक्ष भुजेल स्वास्थ्यकर्मी समेत हुन् ।)
