दोलखा, ०३ कार्तिक । दोलखाको सबैभन्दा ठूलो सहकारी जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औँ वार्षिक साधारण सभा सुरु भएको छ ।
एकाइगत रुपमा सुरु भएको साधारण सभाको पहिलो दिन शुक्रबार दोलखाका उत्तरी पाँच ओटा सेवाकेन्द्रमा एकाइगत साधारण सभा सम्पन्न भएको छ । उत्तरी क्षेत्रका बाबरे, साङ्वा, सिङ्गटी, जगत र सुरी सेवाकेन्द्र अन्तर्गतको साधारण सभा सफलतापूर्वक सम्पन्न भएको कार्यबाहक अध्यक्ष गोपालध्वज श्रेष्ठले जानकारी दिए । साधारण सभामा संस्थाका सञ्चालक एवं सरोकारवालाहरु, स्थानीय जनप्रतिनिधिहरु सहभागि भएका थिए ।
साधारण सभा अन्तर्गत शनिबार चरिकोट र सुन्द्रावती सेवाकेन्द्रको साधारण सभा सम्पन्न हुँदैछन् । त्यस्तै कार्तिक ५ गते जिरी र हाँवा सेवाकेन्द्र एवं छौडे सङ्कलन केन्द्र अन्तर्गत साधारण सभा हुनेछ भने कार्तिक ७ मा मिर्गे, नाम्दु र मार्बु सेवाकेन्द्र अन्तर्गत साधारण सभा हुनेछ । संस्थाको काठमाण्डौ सेवाकेन्द्र अन्तर्गतको साधारण सभा कार्तिक १० गते शनिबार रोयल जडिबुटी ब्याङ्क्वेटमा हुनेछ । दोलखाको शैलुङ र मेलुङ गाउँपालिका अन्तर्गत पवटी, भैँसे र बाघखोर सेवाकेन्द्रमा कार्तिक १२ गते सोमबार साधारण सभाको तयारी गरिएको छ भने मूख्य कार्यालय मैनापोखरीमा कार्तिक १४ गते साधारण सभा हुनेछ ।
दोलखा सहित काठमाण्डौ, भक्तपुर, काभ्रेपलान्चोक र ललितपुर महानगरपालिका कार्यक्षेत्र रहेको जनसचेतन साकोसको यस पटकको साधारण सभाले संस्थाको नयाँ नेतृत्व समेत चयन गर्नेछ । झण्डै ४० हजार बचतकर्ता रहेको जनसचेतन साकोसको आश्विन महिनासम्मको कुल पुँजी २ अर्ब ६७ करोड ४७ लाख २६ हजार ९७० रहेको रुपैयाँ रहेको छ । संस्थाले मूख्य कायालय सहित १७ ओटा सेवाकेन्द्र र एक ओटा सङ्कलन केन्द्रबाट सेवा प्रवाह गर्दै आएको छ ।