सिङ्गटी, १९ माघ । दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ३ सिङ्गटीमा रहेको कालिनाग माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी समाज गठन भएको छ ।
शनिबार विद्यालयमा आयोजित भेलाले दिपेन्द्र पाठकको अध्यक्षतामा १५ सदस्यीय समाज गठन गरेको हो । समाजको उपाध्यक्षमा प्रदिप ठुकरी, सचिवमा नमराज बस्नेत, सहसचिवमा सङिेगता श्रेष्ठ तामाङ र कोषाध्यक्षमा सरूणा कार्की खड्का चयन भएका छन् । समाजले विद्यालयको शैक्षिक, खेलकुद लगायत विभिन्न विकासमा महत्वपूर्ण भूमिका एवं योगदान पुर्याउनेछ ।


पूर्व विद्यार्थी समाज गठन गर्न आयोजित भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम पाठक, विद्यालयका प्रधानाध्यापक दाताराम नेपाल, लगायत कालिनाग माविमा अध्ययन गरी हाल राजधानी काठमाण्डौ लगायत देश तथा विदेशमा विभिन्न पेशा–व्यवसाय गरि बस्ने पूर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो । समाजको प्रथम भेलाले विधान निर्माण, दर्ता प्रक्रिया, भावी कार्ययोजना लगायतका विषयमा छलफल र सुझाव सङ्कलनका लागि आगामी फागुन १७ गते राजधानी काठमाण्डौमा भेलाको आयोजना गर्ने निर्णय समेत गरेको छ ।
दोलखाको उत्तरी क्षेत्रको प्रमुख शैक्षिक गन्तव्यको रुपमा परिचित कालिनाग माविको स्थापना २०४२ सालमा भएको हो ।
