सुरी, २१ जेठ । आफ्ना तीन जना छोराछोरीलाई मेडिकल अधिकृत बनाउने दोलखाको गौरीशङ्कर गाउँपालिकाका एक दलित बाबु सम्मानित भएका छन् ।
गौरीशङ्कर ४ झ्याँकु निवासी धनबहादुर दर्जीलाई गाउँपालिकाको कार्यालय सुरीमा बुधबार आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । उनलाई गाउँपालिका अध्यक्ष विश्वास कार्की र उपाध्यक्ष उमा शेर्पा लगायतले सम्मान गरेका हुन् । धन बहादुरका पाँच सन्तान मध्ये छोरा पदम नेपाली चितवनको भरतपुर अस्पतालमा एम.डि. छन् भने छोरी निरमाया नेपाली मन्थली अस्पताल रामेछाप र अर्का छोरा गणेश नेपाली हेटौडाको मदन भण्डारी अस्पतालमा कार्यरत छन् । धनबहादुरका अर्का छोरा दल बहादुर नेपाली पनि गाउँमै स्थायी शिक्षकको रुपमा कार्यरत छन् ।


धन बहादुरको पढाइ प्रतिको सम्मान र विश्वासको सम्मान स्वरूप जातीय विभेद तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा आयोजित दलित समुदाय प्रतिभा प्रस्फुटन कार्यक्रमको अवसरमा सम्मान गरिएको गौरीशङ्कर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले जानकारी दिए ।
कार्यपालिका सदस्य गङ्गा मुग्रातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौरीशङ्कर गाउँपालिका भित्र दलित समुदायबाट स्थायी शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा विवेक कार्की ढोली, दल बहादुर नेपाली, सुवास विश्वकर्मा, कृष्ण चर्मकार लगायत रहेका छन् । साथै विविध प्रतिभा प्रस्फुटन कार्यक्रममा प्रथम हुने गिता नेपाली र रिता नेपाली, द्वितिय हुने सङ्गीता दास कार्की ढोली, तृतिय हुने सलिना गुरूङ र मेनुका खातीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
