चरीकोट, ३ कार्तिक । दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ६ मा आयोजित वडा स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर तीनले जितेको छ ।
आइतबार भएको फाइनल खेलमा वडा नम्बर एकलाई ०-१-१-१ को सेटमा पराजित गर्दै वडा नम्बर ३ ले उपाधी जितेको हो । उपाधीसँगै वडा नम्बर तीनले नगद २० हजार पुरस्कार जितेको छ भने उपबिजेता वडा नम्बर एकले १५ हजारमा चित्त बुझाएको छ । प्रतियोगितामा वडा नम्बर छ तेस्रो र नम्बर पाँच सान्त्वना भएका छन् । उनीहरूले क्रमशः १० र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर स्थानीय गुजर्पा आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा वडा नम्बर ६ की सुप्रिया थापा बेस्ट सर्भर, वडा नम्बर ३ की मेनुका तामाङ बेस्ट सेटर, वडा नम्बर ३ कै सुष्मा बाँनिया बेस्ट प्लेयर, वडा नम्बर १ की गोमा थामी बेस्ट स्पाइकर र सोही वडाकी गङ्गा थामी बेस्ट डिफेन्डर घोषित भए ।

कालिन्चोक ६ का वडाअध्यक्ष भरत पाण्डेको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिताको समापन समारोहमा बिजेता टिम तथा खेलाडीलाई कालिन्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिताको गत शुक्रबार कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले उद्घाटन गरेका थिए । प्रतियोगितामा कुल ६ वटा टिमले सहभागिता जनाएका थिए ।



