चरीकोट, २७ मंसिर । दोलखाका दुई स्थानमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सम्पन्न भएको छ । जिल्लाको सिङ्गटी बजार र मैनापोखरी बजारमा एकता सन्देश सभा सम्पन्न भएको हो । सभालाई नेकपाको केन्द्र तथा जिल्ला स्तरका नेताहरूले सम्बोधन गरेका थिए ।



सिङ्गटी बजार स्थित खोलिखिम खेल मैदानमा भएको सभालाई नेकपाको केन्द्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरू विशाल खड्का, नर पाख्रिन, भरत प्रसाद दुलाल, सङ्गिता तामाङ, नेकपाका नेता एवम् राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल, नेताहरू गोपाल न्यौपाने, केशव दाहाल, सञ्जीव ओली, विश्वास कार्की, कुलबहादुर बुढाथोकी लगायतले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा नेताहरूले अहिलेको एकता देशको अपरिहार्य आवश्यकता भएको र अब फुटको छुट कसैलाई नभएको भन्दै सबैलाई ढुक्क हुन आग्रह गरेका थिए ।

त्यस्तै, दोलखाको मैनापोखरी बजारमा भएको एकता सभालाई नेकपाका केन्द्रिय महाधिवेशन आयोजक समितिका सदस्य भीम प्रसाद दाहाल, चुनु केसी, टिकाराम दियाली, नेताहरू कमल श्रेष्ठ, कल्याण दाहाल, सुब्बा श्रेष्ठ, पुस्कर कुमार अधिकारी, भुवन घिमिरे, मिनकुमार शिवाकोटी, गोमा दाहाल लगायतले सम्बोधन गरेका थिए ।
सभा अघि नेकपाका नेता तथा कार्यकर्ताहरूले स्थानीय बाजागाजा र झाँकी सहित र्यालीद्वारा बजार परिक्रमा गरेका थिए ।



