चरीकोट, ०३ पौष । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा दोलखा जिल्लाबाट ६ जना केन्द्रिय सदस्य पदमा निर्वाचित भएका छन् । अन्य दुई जना केन्द्रिय लेखा आयोगको अध्यक्षमा निर्वाचित भए ।
दोलखाबाट पूर्व मन्त्री समेत भएका नेता पार्वत गुरूङ, आनन्द प्रसाद पोखरेल, रचना खड्का, पर्शुराम बस्नेत, उर्मिला सुनुवार र श्यामकुमार बस्नेत केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित मध्ये पोखरेल र खड्का केपी ओली इतरको प्यानल अर्थात इश्वर पोखरेल प्यानलका पदाधिकारी उम्मेद्वार भए पनि पराजित भएका थिए ।
पदाधिकारीका उम्मेद्वार स्वतः केन्द्रिय सदस्यको उम्मेद्वार पनि बन्ने भएकाले उनीहरू केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । इश्वर प्यानलबाट उपमहासचिवको उम्मेद्वार बनेका पोखरेलले उक्त पदमा ६३५ मत ल्याइरहँदा केन्द्रिय सदस्यमा भने ९९७ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै इश्वर प्यानलबाटै सचिवको उम्मेद्वार खड्काले सचिव पदका लागि ८७७ मत ल्याएकोमा केन्द्रिय सदस्य पदमा भने ११२४मत प्राप्त गरिन् । केपी ओली प्यानलबाट उठेका नेता पार्वत गुरूङको १४९७ मत आएको छ ।
त्यस्तै महिला कोटाबाट ओली प्यानलकी उर्मिला सुनुवारले १९५८ मत प्राप्त गर्दै केन्द्रिय सदस्यमा नाम दर्ज गराइन् । ओली प्यानलबाट चुनाव लडेका दोलखा घर भइ विराटनगर बस्ने पर्शुराम बस्नेत ११३७ मतका साथ केन्द्रिय सदस्यमा निर्वाचित भइरहँदा दोलखा नै घर भइ एमालेको भूगोल सम्पर्क समन्वय समितिमा आवद्ध नेता श्याम कुमार बस्नेत पनि १८६७ मतका साथ केन्द्रिय सदस्यमा निर्वाचित भए । केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिएका इश्वरी बहादुर रिजाल, इश्वरचन्द्र पोखरेल, गणेश बस्नेत लगायत भने पराजित भएका छन् ।



