चरिकोट, ०७ बैशाख । दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोकको तौथली गएको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर १ सुस्पा क्षमावतीको मानेबाट जन्ती लिएर गएको रोल्वालिङ यातयातको बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका ५ स्थित धारावतीमा दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा दोलखाको भीमेश्वर नगरपालिका १ सुस्पा-क्षमावतीका मानबहादुर थामी, दिपेन्द्र थामी र शिव श्रेष्ठ रहेका छन् । दुर्घटनामा घाइते भएकाहरुको खाडीचौर स्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ भने गम्भिर घाइते केहीलाई थप उपचारका लागि काठमाण्डौ र धुलिखेल अस्पताल रिफर गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
बस सडकबाट करिव सय मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।