सिङ्गटी, २६ कात्तिक । चाडपर्वको सांस्कृतिक परम्परालाई शैक्षिक विकाससँग जोड्दै दोलखाको सिङ्गटीस्थित कालिनाग माध्यमिक विद्यालयले देउसी–भैलो कार्यक्रममार्फत ४ लाख ७३ हजार ५१५ रुपैयाँ सङ्कलन गरेको छ।
विद्यालयले आयोजना गरेको देउसी–भैलोबाट सङ्कलित रकम विद्यालयमा सांस्कृतिक प्रयोगशाला स्थापना गर्नुका साथै तीन गाउँपालिकाका विद्यार्थीबीच बौद्धिक प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालनमा खर्च गर्ने भएको छ। विद्यालयको पूर्वनिर्धारित योजनाअनुसार सङ्कलित रकमबाट कालिनाग माविमा सांस्कृतिक प्रयोगशाला स्थापना गरिनेछ। त्यसैगरी कालिन्चोक, बिगु र गौरीशङ्कर गाउँपालिकाअन्तर्गतका आधारभूत तथा माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरी तहगत बौद्धिक प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक तेज बहादुर खत्रीले जानकारी दिए ।

परम्परागत देउसी–भैलोलाई मनोरञ्जन र चाडपर्वको उत्सवमा मात्र सीमित नराखी विद्यालयको शैक्षिक तथा सांस्कृतिक विकास र विद्यार्थीको प्रतिभा प्रस्फुटनसँग जोड्ने विद्यालयको यो प्रयासलाई समुदायको पनि उल्लेख्य साथ प्राप्त भएको छ। कार्यक्रम सफल बनाउन सिङ्गटी बजारवासी, अभिभावक, विद्यार्थी तथा शुभचिन्तकहरूले आर्थिक, नैतिक र भौतिक सहयोग गरेका थिए। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र पूर्व विद्यार्थी समाजले पनि विभिन्न भूमिका निर्वाह गर्दै कार्यक्रमलाई सफल बनाउन सक्रिय सहभागिता जनाएका थिए। त्यसैगरी लोककलाकार कृष्ण बाँनिया, सुवर्ण कार्की, सुमन पाठक, कृष्ण शिवाकोटी, लगायतको सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर कुमार खड्काले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि विद्यालयका शैक्षिक, सांस्कृतिक तथा रचनात्मक गतिविधिमा समुदायको निरन्तर सहयोग र सहकार्यको खाँचो रहेको उल्लेख गरे । देउसी–भैलोबाट सङ्कलित रकमलाई विद्यार्थीको प्रतिभा विकास र सांस्कृतिक संरक्षणमा लगानी गर्ने विद्यालयको योजनाले चाडपर्वको सांस्कृतिक अभ्यासलाई सामुदायिक शिक्षाको विकाससँग जोड्ने सकारात्मक सन्देश दिएको छ।


