दोलखा, ०८ जेठ । दोलखा जिल्लामा आउँदो शनिबार बृहत् शैक्षिक सम्मेलन हुने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियान अन्र्तगत एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समितिको आयोजनामा उक्त सम्मेलन हुन लागेको हो ।
दोलखामा पहिलो पटक आयोजना हुन लागेको यो सम्मेलन समाजवाद उन्मुख शिक्षाका सम्बन्धमा कोसेढुङ्गा साबित हुने सङ्गठनका अध्यक्ष सन्तोष श्रेष्ठले दावी गरे । समाजवाद उन्मुख शिक्षाको आधार, गुणस्तरिय शिक्षाको लागि पूर्वाधार एवं सिकाई उपलब्धीमा व्यापक सुधार भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा पूर्व विद्यार्थी नेता एवं समाजवादी शिक्षाका अध्ययता लेखनाथ न्यौपानेले समाजवाद उन्मुख शिक्षाको मोडल र गन्तव्य तथा शिक्षाविद् राजकुमार बरालले सामुदायिक विद्यालयमा वर्तमान शैक्षिक सुधारका विषयमा कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ । त्यस्तै बागमती प्रदेशका अब्बल सामुदायिक विद्यालयका रुपमा परिचित रामेछापको डहु मावि र चितवनको नारायणी माविका तर्फबाट सामुदायिक विद्यालयमा भएका असल अभ्यास सम्बन्धी प्रस्तुती पनि सम्मेलनमा हुनेछ ।
पूर्व शिक्षामन्त्री गिरिराजमणी पोखरेलको प्रमुख आतिथ्यतामा हुने सम्मेलनमा जिल्ला स्थित राजनीतिक दलका नेता, स्थानीय निकायका प्रमुख, प्राध्यापक, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी नेता लगायत सरोकारवालाको सहभागिता रहने अध्यक्ष श्रेष्ठको भनाई छ । सम्मेलनकै अवसर पारेर जिल्लाका विभिन्न विद्यालयमा नव नियुक्त शिक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।