मैनापोखरी, ३१ असोज । दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ऋणी सदस्यको करिब ५ करोड रुपैयाँ हर्जना मिनाहा गरेको छ । आर्थिक वर्ष २०८३/८४ लाई ‘ऋण असुली वर्ष’ का रूपमा मनाउने निर्णयअनुसार संस्थाले २०८३ असोज मसान्तसम्मको सम्पूर्ण हर्जना मिनाहा गरेको हो ।
संस्थाले हर्जना छुटको निर्णय कार्यान्वयन गर्दै आफ्नो प्रणालीबाटै सदस्यहरूको हर्जना हटाइसकेको छ । भाखा नाघेको ऋण असुलीलाई प्रभावकारी बनाउने र सदस्यलाई ऋण भुक्तानीका लागि प्रोत्साहित गर्ने उद्देश्यले एक पटकका लागि यस्तो सुविधा दिइएको संस्थाले जनाएको छ ।
संस्थाको आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्मको विवरणअनुसार, २ हजार ८८६ जना सदस्यले ऋण सुविधा लिएका छन् । उक्त अवधिमा संस्थाको कुल ऋण लगानी १ अर्ब ६५ करोड ८५ लाख ९६ हजार ९३२ रुपैयाँ पुगेको छ। कुल ऋण लगानीको झन्डै २३ प्रतिशत अर्थात् ३८ करोड रुपैयाँभन्दा बढी ऋण भाखा नाघेको छ । भाखा नाघेको ऋणमा लागेको हर्जना मिनाहा गर्दा सदस्यले करिब ५ करोड रुपैयाँ बराबरको राहत पाएका छन् ।
पछिल्लो समय नेपाली वित्तीय बजारमा देखिएको समस्या र सदस्यहरूको आर्थिक गतिविधिमा आएको कमीले ऋण असुलीमा चुनौती थपिएको संस्थाको भनाइ छ । यस्तो अवस्थामा सदस्यलाई आर्थिक राहत दिँदै ऋण भुक्तानीमा सहजीकरण गर्न हर्जना छुटको व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले जानकारी दिए । उनका अनुसार, हर्जना मिनाहापछि ऋण असुलीमा सुधार आउने र भाखा नाघेको ऋणको अनुपात घट्ने संस्थाको अपेक्षा छ ।
संस्थाका अध्यक्ष गोपालध्वज श्रेष्ठले भाखा नाघेको ऋण असुलीका सम्बन्धमा वैतेश्वर गाउँपालिकासँग भएको छलफलबाट प्राप्त सुझावका आधारमा यसअघि पनि हर्जना छुटलगायतका व्यवस्था गरिएको बताए । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले समेत हर्जना नलिन निर्देशन जारी गरेकाले सोहीअनुसार सबै ऋणी सदस्यको हर्जना एक पटकका लागि मिनाहा गरिएको उनको भनाइ छ ।
हर्जना छुटको लाभ ऋणी सदस्यले मात्रै पाउने हो कि भन्ने प्रश्नमा अध्यक्ष श्रेष्ठले बचतकर्ता र ऋणी दुवै संस्थाका सदस्य भएकाले यसलाई सामूहिक हितको दृष्टिकोणबाट बुझ्नुपर्ने बताए । ऋण असुलीमा सुधार आएमा नियमित ऋण भुक्तानी गर्ने सदस्य र बचतकर्ता पनि लाभान्वित हुने उनको दावी छ । श्रेष्ठका अनुसार, ऋण असुलीमा सुधारबाट संस्थाको संरक्षित पुँजी फिर्ता कोषमार्फत नियमित ऋणी तथा बचतकर्ता सदस्यलाई समेत लाभ पुर्याउन सकिनेछ ।


