दोलखा, ०४ कार्तिक । नेपालीहरूको महान् पर्व बडादशैंको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। आज मान्यजनबाट दुर्गा भवानीको प्रसादका रूपमा रातो टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ। समितिले टीका लगाउन इच्छुकहरूका लागि बिहान १० बजेर २६ मिनेटलाई उत्तम साइत निर्धारण गरेको छ।
विजयादशमीका दिन परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनबाट टीका र जमरा लगाएर सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको आशीर्वाद लिने गरिन्छ। दशैंले परिवारका सदस्य, आफन्त र इष्टमित्रबीच भेटघाट तथा आत्मीयता साटासाट गर्ने अवसरसमेत प्रदान गर्छ।
समितिका अनुसार, टीका लगाउँदा टीका ग्रहण गर्ने व्यक्ति पश्चिम फर्किने र लगाइदिने व्यक्ति पूर्व फर्किने परम्परागत दिशा निर्धारण गरिएको छ।
असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा लिइने विजयादशमीले नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक एकता र सांस्कृतिक सद्भावलाई थप बलियो बनाउने विश्वास गरिन्छ।


