दोलखा, १० असार । दोलखाको भीमेश्वर नगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ ।
बजेटले सामाजिक विकासका क्षेत्रमा सबै भन्दा बढी बजेट विनियोजन गरेको छ भने पर्यटन विकासका क्षेत्रमा न्युन रकम विनियोजन गरेको छ ।
नगरपालिकामा आयोजित नगरसभामा भीमेश्वरकी उपप्रमुख कमला बस्नेतले कुल ८१ करोड १२ लाख ९० हजार बराबरको बजेट सार्वजनिक गरिन् । जसमा सामाजिक विकास शीर्षकमा सबैभन्दा धेरै अर्थात ४९ करोड ४३ हजार विनियोजन गरिएको छ, यस शीर्षक अन्तर्गत शिक्षा क्षेत्रमा बजेटको ठूलो हिस्सा २८ करोड ४८ लाख खर्च हुने भएको छ । बजेटले भीमेश्वरको पूर्वाधार विकास अन्तर्गत सडक, पुल, भवन निर्माण आदिका लागि २५ करोड २७ लाख विनियोजन गरेको छ । तर भीमेश्वर नगरपालिकाले प्राथमिकतामा राख्ने अपेक्षा गरिएको पर्यटन विकासका शीर्षकमा भने न्युन अर्थात ३१ लाख मात्रै बजेट विनियोजन गरेको छ । त्यस्तै भीमेश्वरको बजेटले सञ्चार क्षेत्रको बजेटमा पनि व्यापक कटौती गरेको छ भने सहकारी क्षेत्रलाई पनि बजेटले प्राथमिकता दिएको छैन ।
चालु आव २०७९/८० को तुलनामा १७ करोड भन्दा बढी घटेर आएको कुल बजेटको ६० प्रतिशत अर्थात ४८ करोड ६७ लाख ४० हजार चालु तर्फ विनियोजन छ भने बाँकी पुँजिगत तर्फ रहेको छ ।