दोलखा, २१ मंसिर । दोलखाको कालिञ्चोक गाउँपालिकामा बुधबारदेखि सुरु भएको पाँचौ राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन बिहिबार विभिन्न खेलका प्रतिस्पर्धाहरु सम्पन्न भए ।
सम्पन्न प्रतिस्पर्धामध्ये एथ्लेटिक्स फिल्ड तर्फका चार खेलको छिनोफानो भएको छ । जसअनुसार कालिञ्चोक २ स्थित निकोभूमे मावि दुई स्वर्ण र एक रजत सहित अग्रस्थानमा छ भने कालिञ्चोक ४ स्थित हिलेपानी मावि र कालिञ्चोक १ स्थित बालोदय माविले एक एक स्वर्ण सहित दोस्रो स्थानमा छन् । त्यस्तै कालिञ्चोक ३ स्थित कालिनाग मावि सिङ्गटी एक रजत र दुई कास्य सहित तेस्रो स्थानमा रहँदा कालिञ्चोक ६ स्थित जनज्योती मावि र कालिञ्चोक ७ स्थित सित्का मावि एक एक रजत सहित पदक तालिकाको चौथो स्थानमा छन् । कालिञ्चोक ३ स्थित भगवती मावि र कालिञ्चोक ९ स्थित कालिका मावि एक एक कास्य सहित पदक तालिकाको अन्तिम स्थानमा छन् ।
हेर्नुहोस् पदक तालिका

बिहिबार छात्र भलिबल तर्फ लिग चरणका खेल पनि सम्पन्न भएका छन् । छात्रा भलिबल तर्फ लिग चरणको अन्तिम खेल शुक्रबार विहान हुनेछ, त्यसपछि छात्रा भलिबल तर्फकै क्वार्टर फाइनल खेलहरु सञ्चालन हुनेछन् । शुक्रबार नै कबड्डी तर्फको प्रतिस्पर्धा पनि सुरु हुने कालिञ्चोक गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत नवराज ओलीले जानकारी दिए । प्रतियोगिताको बुधबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका थिए ।



