दोलखा ०१ पौष । नेकपा एकिकृत समाजवादी दोलखाको अध्यक्षमा पुन भीमप्रसाद दहाल चयन भएका छन् । शनिबार मध्यरातमा सम्पन्न दशौँ जिल्ला अधिवेशनले दहालको अध्यक्षतामा सर्वसम्मत जिल्ला कमिटी चयन गरेको हो ।
कुल ९१ सदस्सीय जिल्ला कमिटीको उपाध्यक्षमा अशोक कुमार दहाल र सङ्गिता पाख्रिन चयन भएका छन् भने सचिवमा मोहन थापा तथा उपसचिवमा प्रकाश कुमार केसी, बैकुण्ठ भण्डारी र ताम प्रसाद आपागाईं चयन भएका छन् । सदरमुकाम चरिकोट स्थित सिमपानी हलमा सम्पन्न अधिवेशनको शनिबार दिउँसो नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए ।
अधिवेशन उद्घाटन समारोहमा पार्टी उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज गङ्गालाल तुलाधर, बागमती प्रदेश अध्यक्ष सावित्रा भुषाल, केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, पोलिट ब्युरो सदस्य शिवप्रसाद भण्डारी लगायत नेताहरु सहभागि भएका थिए । नेकपा एसको जिल्ला अधिवेशनमा प्रतिनिधि सभाका सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता गङ्गा कार्की विश्व तथा कांग्रेस नेता एवं बागमती प्रदेश सभाका सदस्य कुन्दनराज काफ्लेले पनि अधिवेश स्थलम्रै पुगेर शुभकामना दिएका थिए ।
अधिवेशन उद्घाटन सत्र अघि नेकपा (एस) का नेता तथा कार्यकर्ताहरुले र्याली मार्फत सदरमुकाम चरिकोट बजार परिक्रमा गरेका थिए ।