दोलखा, ०१ पौष । दोलखा सदरमुकाम चरिकोट स्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था आफ्नै अत्याधुनिक नयाँ भवनमा सरेको छ ।
चरिकोट बीचबजारमा नवनिर्मित भवनको आइतबार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले उद्घाटन गरे । २०७५ सालबाट निर्माण सुरु भएको भवनको कुल लागत पाँच करोड बैसठ्ठी लाख सन्तानब्बे हजार रहेको छ । साथै भवनको आन्तरिक सजावटका लागि एक करोड ७९ लाख ७ हजार रकम खर्च भएको संस्थाले जनाएको छ । साकोसले भवन निर्माणका लागि सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान समेत गरेको छ ।
साथै आइतबार नै मिलिजुली कालिञ्चोक साकोसको नव निर्वाचित सञ्चालक समितिको सपथ ग्रहण समेत सम्पन्न भएको छ । साकोसको हालै सम्पन्न ३० औँ वार्षिक साधारण सभाका क्रममा कृष्ण बहादुर गौतमको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको थियो । त्यसैगरी साकोसको वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद अधिकारी, महिला उपाध्यक्षमा सरुणा बस्नेत (श्रेष्ठ), सचिवमा ठाकुर प्रसाद पाठक, सह–सचिवमा अर्जुन प्रसाद चौलागाईं र कोषाध्यक्षमा सुरेशचन्द्र खड्का चयन भएका छन् । उन्नाइस सदस्सीय सञ्चालक समितिको सदस्यहरुमा अनिता खड्का (श्रेष्ठ), विनिता सुवेदी भण्डारी, देवेन्द्र अर्याल, लक्ष्मी थापा, नवराज रिजाल, पुष्कर कुमार श्रेष्ठ, रविलाल श्रेष्ठ, राजेश उप्रेती, रमेश चौलागाईं, रुद्रजङ्ग बुढाथोकी, शारदा थापा, सुजन काफ्ले र युवराज खड्का चयन भएका छन् । त्यस्तै संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा नारायण प्रसाद सापकोटा र सदस्यद्वयमा भीमसेन बस्नेत र फत्त बहादुर श्रेष्ठ चयन भएका छन् ।
दोलखा सदरमुकाम चरिकोटमा मूख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक साकोसले दोलखा र सिन्धुपाल्चोक सहित ११ ओटा सेवाकेन्द्रबाट वित्तिय सेवा सञ्चालन गरिरहेको छ । कुल एक अर्ब २९ करोड पुँजी रहेको सो साकोसमा २५ हजार भन्दा बढी शेयर सदस्य रहेका छन् ।