दोलखा, १५ मंसिर । आगामी पौषको दोस्रो सातादेखि दोलखा महोत्सव हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघले पौष १३ देखि २२ गतेसम्म १० दिने बृहत दोलखा महोत्सव गर्न लागेको हो ।
दोलखा जिल्लाको व्यापार व्यवसायलाई चलायमान बनाई जिल्लाका स्थानीय कृषि तथा औद्योगिक वस्तु तथा सेवाहरुको प्रचारप्रसार र बजारीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको संघले जनाएको छ । महोत्सवबारे जानकारी दिन बिहिबार साँझ चरिकोटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जिल्लाको आर्थिक, सामाजिक, धार्मिक र पर्यटकिय क्षेत्रको विकास, प्रचार र सम्बर्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिए । स्थानीय स्तरमा उत्पादित वस्तुका साथै विविध क्षेत्रको स्टलहरु रहने महोत्सवमा स्थानीय व्यवसायीलाई स्टल बुकिङमा विशेष छुट सुविधा प्रदान गरिएको उनले बताए ।
महोत्सव स्थल चरिकोट टुँडिखेलदेखि भ्यु टावरसम्म घोडचढी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुती, विभिन्न जातजातीको सँस्कृति झल्किने झाँकी प्रदर्शनी, उत्कृष्ट कृषक तथा उद्यमी सम्मान, दोलखा रत्न सम्मान आदी महोत्वसका आकर्षण रहने छन् । साथै महोत्सव अवधीमा दोलखाका ९ ओटै स्थानीय तहहरुसँगको समन्वयमा आर्थिक बहस समेत सञ्चालन गरिने संघका महासचिव सुरेश उप्रेतीले जनतापेजलाई जानकारी दिए ।