दोलखा, १३ मंसिर । शैलुङ गाउँपालिकाको आयोजनामा सञ्चालित अन्तरमाध्यमिक विद्यालयस्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ मा शारदा माध्यमिक विद्यालय प्रथम भएको छ। मंसिर ९ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा १९ पदकसहित शारदा मावि शैलुङ–६ ले उपाधि जितेको हो।
अन्तिम पदक तालिकाअनुसार शारदा माविले १० स्वर्ण, ४ रजत र ५ कांस्य पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी, वीरेन्द्र माध्यमिक विद्यालय शैलुङ–५ ले ५ स्वर्ण, ८ रजत र ४ कांस्यसहित १७ पदक प्राप्त गरी दोस्रो स्थान हासिल गरेको छ। ६ स्वर्ण, ५ रजत र ५ कांस्य गरी १६ पदक प्राप्त गरेको कालिका माध्यमिक विद्यालय शैलुङ–७ तृतीय भएको छ।
प्रतियोगितामा दुर्गा माध्यमिक विद्यालय शैलुङ–४ ले २ स्वर्ण, ९ रजत र ७ कांस्यसहित चौथो स्थान हासिल गर्दा काली भूमे माध्यमिक विद्यालय शैलुङ–३ पाँचौँ भएको छ। त्यसैगरी, साङ्गुते मावि छैटौँ, कल्लाबारी मावि सातौँ, मगापौवा मावि आठौँ, शैलुङ हिल्टन मावि नवौँ र नवीन मावि दसौँ स्थानमा रहेका छन्।
प्रतियोगिताको समापन समारोह गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। समारोहमा गाउँपालिका उपाध्यक्ष पार्वती थापा, वडाध्यक्षहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरूले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए। विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने खेलाडी तथा विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ।
विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान, विकास र प्रवर्द्धन गर्दै सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै अनुशासन, आपसी सद्भाव, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न योगदान पुर्याएको आयोजकको विश्वास छ।


